लुम्बिनी प्रदेश सांसद विमला वली एमालेमै फर्किइन्

काठमाडौं । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन्। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्यूँताएपछि दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले नेकपा (माओवादी केन्द्र) रोजेकी थिइन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू सूर्य चिन्हबाट विजयी भएकाले एमालेमै रहने स्पष्ट पारेकी हुन्। उनले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएकी छन्।  उनले भनेकी छन्, ‘म निर्वाचित भएर प्रदेशसभामा क्रियाशिल हुँदै गर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको म प्रति गुनासा हुनु स्वाभाविकै थियो। ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु।’

सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले ४१ सांसदको हस्ताक्षर बुझाएका हुन्। ‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा. शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा. धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराइयो।’– निवेदनमा भनिएको छ। जसमा माओवादी केन्द्रबाट सांसद वलीको समेत हस्ताक्षर प्रयोग गरिएको थियो। लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेका छन्। 

प्रदेश समाचार मुख्य समाचार राजनीति