तथ्यहीन विषय प्रकाशन नगर्न धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डको दुई कर्मचारी युनियनले फरक आशयसहितको विज्ञप्ति जारी गरेका छन् । बुक बिल्डिङ विधिबाट धितोपत्रको प्रारम्भिक सर्वाजनिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाकी छोरी रेबिका ढुङ्गानाले खरिद गरेको समाचार हिमाल खबरले प्रकाशित गरेको थियो ।

यस्तै सोही कम्पनीको सेयर बोर्डकै सञ्चालक चन्द्रप्रसाद ढकालका भाइ हेमराज ढकाल र नेप्सेका सीईओ चन्द्र सिंह साउँदले पनि श्रीमतीको नाममा किनेका थिए । उक्त प्रकरणमा अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई स्पष्टीकरण पनि सोधेको थियो ।

उक्त विषयमा नेपाल धितोपत्र बोर्डका कर्मचारी दुई धु्रवमा बाँडिएको देखिन्छ । आइतबार नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले बोर्डको प्रतिष्ठामा आँच आउने कार्य भएको भन्दै पदीय मयार्दा विपरीतको कार्य गर्नेलाई निलम्बन गरेर छानबिन गर्न माग गरेको थियो । उनीहरूले विज्ञप्तिमार्फत् मन्त्रालयले सिंगो बोर्डलाई नै उल्लेख गरेर स्पष्टीकरण सोधकोमा असन्तुष्टि जनाएका थिए ।

तर, बोर्डकै अर्को कर्मचारी युनियन नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बाजारको विकासका लागि गंगठन र कर्माचारीले निरन्तर योगदान गरेको दाबी गरेको छ । साथै संगठनले जारी गरेको विज्ञप्ति धितोपत्र बजारमा रहेका सञ्चालनात्मक तथा संरचनात्मक कमीकमजोरीहरूमा सुधारको प्रयासमा व्यवधानजन्य कार्यहरू भएको सामाजिक सञ्जालमा देखिएको समेत उल्लेख गरिएको छ ।

“पछिल्लो समय धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरूसँग जोडिएर विभिन्न संचार माध्यमहरूमा प्रकाशित भएका समाचारहरूप्रति यस संगठनको गम्भिर ध्यानाकर्षण भएको छ,” नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संगठनले धितोपत्र बोर्ड, पधादिकारी र बजारको सम्बन्धमा सञ्चार माध्यममा आएका विषयमा सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेको छ । “पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरूमा आएका विषयहरूलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारित भई आवश्यकता अनुसार वास्तविकता बाहिर ल्याउन र बोर्डको कार्य वातावरणलाई प्रभावित हुन नदिन यसै विज्ञप्तिमार्फत् बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौ,” नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संगठनले बोर्ड र बोर्ड सम्बद्ध निकायहरूसँग जोडिएर आएका विषयहरूमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्राप्त हुने भन्दै भ्रामक एवम् तथ्यहीन विषय प्रकाशन नगर्नसमेत संगठनले अपिल गरेको छ ।

अर्थ मुख्य समाचार