धनुषाको  निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला

काठमाण्डौ । धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ ।

शहीदनगर नगरपालिका यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो । शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । कोरोनाविरुद्वको खोप बेच्न राखेको पूर्व सूचनाको आधारमा श्रीराम मेडिकलमा खोप फेला परेको हो । खोप फेला परेपछि मेडिकलका सञ्चालक कमलेश मण्डल पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले एक जना स्वास्थ्यकर्मीलेनै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय यदुकोहामा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभयो ।००००

मुख्य समाचार स्थानीय स्वास्थ्य