आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा, २० प्रतिशत छुटमा दैनिक उपभोग्य बस्तु बिक्री सुरु

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि देशैभर ८१ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।

बजारको मूल्य नियन्त्रण गर्न र सर्वसाधारणलाई सहजरुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । सरकारले यसका लागि सवा तीन करोड रुपैयाँ बजेट निकासा गरेको थियो ।

प्रत्येक वर्षको दशैं–तिहारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुपथ मूल्य पसल चलाएर सस्तोमा सामान बिक्री गर्ने गरेका छन् । साल्ट ट्रेडिङ्गले ग्यास, चिनी, चामल र दाल लगायतका बस्तुहरु बिक्री गर्छ भने खाद्य कम्पनीले जुम्लाको सिमी, विभिन्न प्रकारको दाल र फापर बिक्री गर्छ ।

चाडपर्वका लागि सञ्चालनमा ल्याइने सुपथ मूल्य पसलमा सामान्य पसलमा भन्दा करिब २० प्रतिशतसस्तो हुने साल्ट टे«डिङले बताएको छ ।यस वर्षको दसैँमा चिनी भने साल्ट ट्रेडिङसँग खासै छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपानेले आजबाट कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि चामल, तेल र खसी–बोकामा छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गरेका छौं । कम्पनीले २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिनेछ । खसीमा प्रतिकेजी १० रुपैयाँ छुट दिने छौं ।’

खाद्यको काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल हुनेछ भने अन्य ३९ पसल उपत्यका बाहिरका ४० जिल्ल्लामा सञ्चालनमा आएको छ ।
यता साल्ट ट्रेडिङले उपत्यकासहित देशभर ३८ वटा स्थानमा पसल सञ्चालन गरेको छ ।

अर्थ मुख्य समाचार रोचक समाचार समाज स्थानीय