शीतभण्डार निर्माण तीव्र, जुनसुकै बेला पनि उत्पादन गरेको बस्तु बिक्री गर्न सकिने


काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो ।

नगरपालिकाले यसलाई गौरवको योजनाको रुपमा सूचीकृत गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

कृषकले उत्पादन गरेका कृषिउपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको रेग्मीले बताए ।

लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो ।

चालु आर्थिक वर्षभित्रै शीतभण्डारको काम सम्पन्न हुनेछ । नगरमा उत्पादन हुने आलु, अदुवालगायत वस्तुलाई यसै वर्ष भण्डारण गर्ने व्यवस्था मिलाइने छ ।कृषकलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो ।

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नम्बर ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो ।

शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण सुरु भएपछि खुशी भएका छन् ।

अर्थ कृषि समाचार प्रदेश समाचार मुख्य समाचार राजनीति विज्ञान प्रविधि समाचार समाज