संचालनको अन्तिम तयारीमा हेटौंडाको भाट-भटेनी सुपर मार्केट , मंसिर २२ मा उद्घाटन

१७ मंसिर , हेटौंडा – निर्माणकार्यको अन्तिम अवस्थामा हेटौंडामा बनिरहेको भाट-भटेनी सुपर मार्केट संचालनको अन्तिम तयारीमा रहेको छ । भाट-भटेनीको २० औं स्टोर हेटौंडा – २ चौकिटोलमा निर्माण भएको हो ।

विराटनगरमा नेपालकै ठूलो सुपर मार्केटको रुपमा १९ औं स्टोरको शुभारम्भ गरेको भाट–भटेनीले हेटौंडामा बनेको २० औं स्टोर पनि सञ्चालनका लागि अन्तिम तयारी गरेको भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले बताए ।

चौकिटोलको करिब १४ कट्ठा क्षेत्रफलमा निर्माण भएको भाट-भटेनी करिब डेढ अर्ब लागतमा तयार भएको गुरुङले बताए । हेटौंडामा भाट–भटेनीको उपस्थितिले आर्थिक गतिविधि बढ्नुका साथै पर्यटन चलायमान हुने उनको भनाई छ। स्टोरमा स्थानीय करिब २ सय जनाले रोजगार प्राप्त गर्ने जनाइएको छ ।

स्टोरको औपचारिक समारोहका बीच विभिन्न क्षेत्रका अतिथिहरुको उपस्थितिमा आउँदो मंसिर २२ गते अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङ परिवारले उद्घाटन गर्ने कार्यक्रम रहेको सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताएका छन् । उद्घाटन समारोहमा उपस्थित हुनका लागि हेटौंडाका विभिन्न क्षेत्र, संघ-संस्थाका प्रतिनिधि लगायत हेटौंडा बासीलाई निमन्त्रणा गरिएको उनले बताए ।

स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको व्यवस्थापक भट्टराइले बताए । स्टोरको ग्राउण्ड फ्लोरमा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान र कस्मेटिक सामग्री राखिएका छन् भने फ्रस्ट फ्लोरमा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गारका सामग्री हुनेछन्।

सेकण्ड फ्लोरमा महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता लगाएतका ब्राण्डेड फेन्सी सामग्री राखिएका छन् भने थर्ड फ्लोरमा जुत्ता–चप्पल लगाएतका फुटवेयर सामग्री राखिएका छन् । सोही फ्लोरमा इलेक्ट्रोनिक्स सामग्री हुनेछन् । जहाँ टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री राखिनेछन्।

त्यसैगरी चौथो फ्लोरमा क्यू एन्ड यू कम्पनीका फर्निचर राखिनेछन् भने पाँचौं तला निर्माणधिन छ । हाल स्टोरको प्रशासनिक र व्यवस्थापकीय कार्यालय पनि राखिएको छ। छैटौं तलामा स्टोरले गोदाम बनाएको छ। भाट-भटेनी स्टोरमा केकेएफसी, पेपे पिजा साथै डिजिटल हल हुनेछन् । केके एफसी र पेपे पिजा तत्काल सुरु भएतापनि फिल्म हललाई भने समय लाग्ने व्यवस्थापक भट्टराइले बताए ।

प्रदेश समाचार मुख्य समाचार रोचक समाचार