सीमाक्षेत्रमा घर फर्कनेको लर्को

काठमाडौं । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।

दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।

जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।

सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउनुहुन्छ । मटिहानी, भिठ्ठामोर र सम्सीनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँ–नगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ ।

जिल्लाभित्र नेपाल प्रवेशका नाकामा व्यवस्थित स्वास्थ्य डेस्क सञ्चालन नगरिँदा अब सङ्क्रमणको डरलाग्दो अवस्था बन्नसक्ने इम्तियाजको चिन्ता छ । अहिले भिठ्ठामोर नाकाबाहेक नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचको प्रबन्ध अन्य कुनै ठाउँमा छैन ।

भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो । नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताए ।

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार स्थानीय स्वास्थ्य