अब अनुदान लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ- अध्यक्ष हुमागाई

२६ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्वर –४ , कालिखोलामा रहेको कालीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईँको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष अर्जुनप्रसाद सापकोटाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि हुमागाईँले जनता र सरकार बिच पुलको रुपमा रहेको सहकारी संस्थाले किसानको हितलाई मध्येनजर गर्दै विभिन्न योजना तर्जूमा तथा त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । अनुदान लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै अब उत्पादन बेसमा अनुदानको ब्यवस्था गरिने अध्यक्ष हुमागाईको धारणा छ । कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले दुग्ध उत्पादक किसानका लागि दुधमा अनुदान, बिक्रीका आधारमा सन्चित कोष स्थापना तथा लगानीको जोखिम न्यूनीकरणका लागि पशु बिमा कार्यक्रमलाई स्थानीय सरकारले सहयोग गर्ने धारणा राख्नुभयो । संस्थागत हितका विषयमा पालिकाले सहकारी संस्थासंग सहकार्य गर्दै आइरहेको भन्दै हुमागाईले भोलिका दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताउनु भएको छ । उहाँले पछिल्लो समय सहकारी संस्थाको विकासमा उल्लेख्य प्रगति भएको भन्दै प्रशंसासमेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि द्वय मकवानपुरगढी वडा नम्वर ३ का अध्यक्ष भागवत घिमिरे र वडा नम्वर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिनाले कृषक र सहकारी संस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँहरुले सहकारीले कृषककोे हितमा ध्यान दिनुपर्ने र कृषक तथा उपभोक्ताले पनि प्राप्त गरेको सुविधाको सही समुपयोग गर्दै आफुलाई व्यवसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुनप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक मेरबहादुर पाख्रिनले लेखा समितिको प्रतिवेदन र ऋण उप–समिति संयोजक हरिशरण दाहालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकारितामार्फत् सहकारीको संस्थागत विकासमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य बलराम पुडासैनीलाई सम्मान गरिएको थियो ।

त्यस्तै संस्थाको शेयर सदस्य जेष्ठ नागरिक, टाढादेखि दूध बेच्न आउने किसान, गुणस्तरीय दूध बेच्ने किसान, धेरै दूध बेच्ने किसान र इमान्दार ऋणी लगायतलाई पनि सम्मान गर्नुको साथै दूघ बोक्ने भाँडासमेत वितरण गरिएको थियो ।

कार्यक्रममा मनकामना दूग्घ उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दाहाल, हिमाल महिला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष जानकि दाहाल , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका पुर्व अध्यक्ष खिलप्रसाद चौँलागाई, सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विडारी, गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शारदा तिमल्सिना , सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई प्रमुख लक्ष्मण दाहाल , सहिद रुद्र स्मृति पार्कका अध्यक्ष मानकुमारी नेपाली , नेता भीम पाख्रिन , विभिन्न टोलविकास संस्थाका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

कृषि समाचार मुख्य समाचार समाचार सहकारी