सरकारले दुधको मूल्य नबढाएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघद्वारा आन्दोलनको चेतावनी

हेटौँडा/ नेपाल सरकारले दुधको मूल्य नबढाएको विषयलाई लिएर केन्द्रीय दुग्ध सहकारी संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । केन्द्रीय दुग्ध सहकारी संघले अधिराज्यभर रहेको १८७२ दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध ५ लाख कृषक परिवारले उत्पादन गरेको दूध संकलन गरि औपचारिक क्षेत्रमा दैनिक करिब ९ लाख लिटर दूध बजारमा उपलब्ध गराउँदै आएको छ ।

जसबाट दैनिक ५ करोडको हाराहारीमा शहरको पुँजी गाउँ पुर्याउँदैं आएको दुग्ध उत्पादक सहकारी संस्थाले गरिब विपन्न किसानहरुको आय आर्जनमा टेवा पुर्याउँदैं आएको हुँदा युवाहरुको आकर्षक रहेको दुग्ध उत्पादन पेशालाई संरक्षण र प्रवर्द्धन गर्दै देशलाई दुग्ध जन्य उत्पादनमा आत्मनिर्भर बनाउनु आजको आवस्यकता देखिन्छ विज्ञप्तीमा भनिएको छ ।

करिब ३ वर्षदेखि कच्चा दुधको मूल्य वृद्धि नहुनु,पशुहरुलाई खुवाउने पराल,दाना,चोकर,औषधि लगायतको मूल्य अत्याधिक वृद्धि हुनु,कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुग्नु,पशुवस्तु अनुत्पादक रहनु,मिल्क होलिडे हुनु,कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनु जस्ता कारणहरुले हाल फ्लस सिजनमा पनि पर्याप्त मात्रा दूध उत्पादन नहुँदा बजारमा दूध लगायत दुग्ध जन्य उत्पादन बाह्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था सृजना भएको छ । यसका ेमुख्यकारण भनेको दुधको मूल्य वृद्धि नहुनु नै हो विज्ञप्तीमा उल्लेख छ ।

केन्द्रिय दुग्ध सहकारी संघको गत असोज १४ गते बसेको बैठकले २०७८ कात्तिक १ गतेदेखि दुधको मूल्य वृद्धि गराई कृषकहरुलाई यो पेशामा टिकाउनको लागि सम्माननीय प्रधानमन्त्रीज्युमा अनुरोध भएपश्चात प्रधानमन्त्रीज्युबाट कृषि तथा पशुपन्छी मन्त्रालयमा दुधको मूल्य वृद्धिबारे यथाशीघ्र कार्य अगाडि बढाउन निर्देशन भएको र कृषि तथा पशुपन्छी मन्त्रालयले पनि राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत कृषकहरुको लागत मूल्य अध्ययन गरि प्रतिवेदन पेश गर्न आव्हान भएपश्चात सरोकारवाला केन्द्रीय दुग्ध सहकारी संघ,प्राइभेट डेरी उद्योग,दुग्ध विकास संस्थान समेतले संयुक्त रुपमा रु.१० र प्रति लिटर मूल्य वृद्धि गर्न सिफारिस गरेकोमा हालसम्मपनि दुधको मूल्य वृद्धि नभएको प्रति संघले आपत्ती जनाएको छ ।

सो कारणबाट अब पनि कृषकहरुले उत्पादन गरेको दुधको मूल्य वृद्धि नहुने हो भने दुधमा आत्मनिर्भर हुने अवस्थाबाट बिमुख भइ विदेशबाट आयात गर्नुपर्ने र यो पेशा नै धराशायी हुने अवस्था देखिएको भन्दै कृषकहरु पुन: आन्दोलित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै मूल्य वृद्धि गराउनका लागि सबै जिल्ला दुग्ध सहकारी संघहरुबाट सरकारलाई कृषकहरुले उत्पादन गरेको दुधको मूल्य वृद्धि गराउन दबाब स्वरुप प्रेस विज्ञप्ति जारी गरिएको र पुन: तत्काल दुधको मूल्य वृद्धि नहुने अवस्था सृजना भए संघद्धारा विभिन्न आन्दोलनका कार्यक्रमहरु यथाशीघ्र घोषणा गरिने केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ ।

 

Uncategorized अर्थ कृषि समाचार मुख्य समाचार समाचार समाज सहकारी स्थानीय