सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना

हेटौँडा/ सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । सिलिचोङ गाउँपालिका र तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त साझेदारीमा सिलिचोङमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।

गाउँपालिकाको केन्द्र ताम्कुमा रहेको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताउनुभयो । दुर्गम ताम्कुमा सोमवारदेखि आँखा उपचार सेवा सुरुवात गरिएको छ । पहिलो दिनमा नै गाउँलेहरुको निकै भीड लागेको कुलुङले बताउनु भयो ।

सदरमुकाम खाँदबारीमा हुने आँखासम्बन्धी सबै सेवा ताम्कुमा नै हुने भएपछि सिलिचोङवासीले आफ्नै ठाउँमा सहुलियतदरमा सेवा लिने भएका छन् । तेजरत्न आँखा तथा कान उपचार केन्द्रले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने र कर्मचारीसहित व्यवस्थापनको काम गाउँपालिकाले गर्ने गरी सम्झौता भएको छ ।

गाउँपालिकाले आँखाको चेकजाँचका लागि स्वास्थ्यकर्मी सिर्जना राईलाई नियुक्ति गरिसकेको छ । सिलिचोङ गाउँपालिकाकै स्वास्थ्यकर्मी छत्रबहादुर शिवालाई तालिम दिन दक्ष बनाइएको जनाइएको छ । दुर्गम सिलिचोङमा नै आँखाको उपचार हुन थालेपछि स्थानीयहरुलाई खाँदबारी आउने झन्झटको अन्त्य भएको छ । स्थानीयस्तरमा आँखा उपचार केन्द्रको स्थापना भएपछि गाउँलेहरु खुसी भएका छन्।

 

प्रदेश समाचार मुख्य समाचार विज्ञान प्रविधि समाचार स्वास्थ्य