कोदो र फापरको परिकार बनाउने तालिम समापन, भोलि परिकार प्रदर्शनी


२९ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा गत माघ २७ गते देखि संचालन गरिएको रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम आज शनिबार एक समारोहका वीच सम्पन्न भएको छ ।

स्थानीय उत्पादन प्रवर्द्वन, विविधिकरण र व्यवसायीकरण गर्ने उदेश्यले स‍ंचालन गरिएको तालिममा सवै वडाको प्रतिनिधित्व हुने गरि होमस्टे, होटल, खाजा घरका स‌ंचालक एवम् कृषि प्राविधिक गरि २२ जनाको सहभागिता रहेको थियो ।

तालिममा कोदो र फापरको विभिन्न परिकारहरु म:म:, पिज्जा, दुनोट, हलुवा, निमकिन, बिस्कुट पाउरोटी, महफिन, प्यान केक, कप केक, बटर केक, बाल आहार (लिटो) लगायतका परिकारहरु बनाउन सिकाइएको मकवानपुरगढी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

३ दिन सम्म संचालन भएको परिकार बनाउने तालिममा नेपाल कृषि अनुसन्धान परिषदका खाद्य वैज्ञानिक प्रविण ओझाले परिकार बनाउन सहजीकरण गर्नुभएको थियो भने बाली विकास तथा जैविक विविधता स‌ंरक्षण केन्द्रका प्रमुख (सहसचिव) डा‍ रामकृष्ण श्रेष्ठले रैथाने बालीको महत्व र उपयोगिताको विषयमा सहजीकरण गर्नुभएको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।

तालिमसँगै परिकारहरु पालिकामा सधै उपलब्धताको सुनिश्चित गर्न तालिममा सहभागी भएका मध्येबाट वडा नं ३ मक्रान्चुली गाउँपालिका कार्यालय नजिकै रहेको निश्चल होटलका स‍ंचालकलाई गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले ओटिभी ओभन मेशिन हस्तान्तरण गर्नुभयो । साथै आवश्यकता अनुसार तालिमका अन्य सहभागीहरुलाई समेत मेशिन उपलब्ध गराउने अध्यक्ष हुमागाईले बताउनुभयो ।

आज गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षतामा तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, तालिमका मुख्य प्रशिक्षक प्रविण ओझा, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, कृषि शाखा प्रमुख चन्द्रकान्त चैाधरी, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, पत्रकार एमपी शर्मा लगायतकाको उपस्थिति रहेको थियो ।

यसैबीच स्थानीय उत्पादनको प्रवर्द्वन एवम् व्यवसायीकरण गर्ने उदेश्यले तालिमबाट उत्पादित परिकारको भोलि फागुन १ गते गाउँपालिका कार्यालय परिसरमा प्रदर्शनीको आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रदर्शनी गरिने हुँदा अवलोकन तथा नयाँ स्वाद लिन कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले सबैमा अनुरोध समेत गर्नुभएको छ ।

कृषि समाचार मुख्य समाचार रोचक समाचार समाज