हेटौँडामा नेपाल बन्दको सामान्य प्रभाव

हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाल बन्दको आशिक प्रभाव परेको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा टेवुल गर्न लागेको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ सहितका ५ दल र एउटा मोर्चाले बन्द घोषणा गरेको छ ।

विप्लव’ सहितका ५ पार्टी र एउटा मोर्चाले हिजो एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता संसदमा टेवुल गर्न नदिन आज नेपाल बन्दको घोषणा गरेका थिए ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज बुधबार देशभर नेपाल बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण हेटौंडाको मुख्य बजार क्षेत्र पूर्णरुपमा बन्द भएको छ भने हेटौंडा नगरभित्रका पसलहरु खुलेका छन् । लामोदुरीका सवारी साधन बिहान केहि समय गुडेका भएपनि अहिले ठप्प भएका छन् । तर छोटादुरीका सवारी साधन अटो, मयुरी र मोटरसाइकलहरु मूख्य बजार क्षेत्रभन्दा बाहिरका क्षेत्रमा निर्वाध चलिरहेका छन् ।

यस्तै नगरका सम्पूर्ण क्याम्पस तथा विद्यालयहरु पूर्णरुपमा बन्द भएका छन् । बजार क्षेत्र र विभिन्न चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ । बन्दकर्ताहरु समेत मुख्य बजारक्षेत्रमा देखिएका छन् । यद्यपी अहिलेसम्म कुनैपनि अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज