बागमती प्रदेशमा आठ लाख भेडा बाख्रालाई पिपिआर खोप

हेटौँडा/ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा भेडा बाख्रामा लाग्ने पिपिआर विरुद्धको खोप लगाउन किसानहरु उत्साहीत भएका छन् । पिपिआर रोगका विरुद्ध खोप लगाउन नपाएकै कारण धेरै बाख्रा मर्ने समस्या भोग्दै आएका किसानहरु आफ्ना खोरमै आएर चिकित्सक मार्फत खोप लगाउन पाउँदा निकै खुसी भएका हुन् ।

प्रदेशका १३ जिल्लाका एक सय १९ वटै स्थानीय तहका किसानहरुले आफ्ना भेडा बाख्रामा लाग्ने पिपिआर विरुद्धको खोप लगाएका हुन् । अझै पनि धेरै भेडा बाख्रालाई यो खोप लगाउन छुटेको छ । तै पनि उत्साहजन रुपमा किसानले भेडा बाख्रालाई खोप लगाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताउनुभयो ।

यो अभियानबाट धेरै किसान लाभान्वीत भएको उहाँले बताउनुभयो । भेडा, बाख्रामा लाग्ने हैजा बिरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रममा प्रदेशभरका १३ वटा जिल्लाका ८ लाख ३० हजार १८७ वटा भेडाबाख्रामा खोप लगाइएको छ । पशुसेवा कार्यालयहरु मार्फत यो खोप अभियान सुरु गरिएको हो ।

माघ २५ गतेबाट खोप अभियान सञ्चालन फागुन २ गते सम्ममा ८ लाख ३० हजार १८७ वटा भेडा बाख्रामा खोप लगाइएको पशुपन्छी विकास महाशाखाका पशु चिकित्सक डाक्टर सृजा वाग्लेले बताउनुभयो । उहाँले ८ हजार ६९८ वटा भेडा र ८ लाख २१ हजार ४८९ वटा बाख्राजातमा खोप लगाइएको बताउनुभयो । पहिलो चरणमा मकवानपुरमा सबैभन्दा धेरै खोप लगाइएको डाक्टर वाग्लले बताउनुभयो ।

मकवानपुरमा एक लाख ६६ हजार ४२३ वटा बाख्राहरुमा खोप लगाइयो भने नुवाकोटमा एक लाख २० हजार १९ वटा भेडाबाख्रामा खोप लगाइएको छ । सबैभन्दा कम भक्तपुरमा ६ हजार १८१ वटामा लगाइएको छ । प्रदेशका स्थानीय तहका सबै वडाहरुमा खोप भ्याक्सिनेटर परिचालन र खोपकेन्द्र सञ्चालन गरि पहिलो पटक प्रदेश सरकारले खोप अभियान गरेको हो । पहिलो चरणमा एक करोड १९ लाख बजेटबाट ११ लाख ९० हजार खोपको मात्रा खरिद गरी खोप अभियान सुरु गरिएको हो ।

प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो । ११ लाख ९० हजार खोपको मात्रा भएता पनि एक सातामा ८ लाख ३० हजार १८७ मात्रा प्रयोग गरिएको देखिन्छ । एकचोटी लगाएपछि भेडाबाख्राहरुमा तीन वर्ष लगाउन नपर्ने हुन्छ । पहिलो चरणमा काभ्रेमा ९९ हजार १८२, ललितपुरमा २७ हजार ५८७, काठमाडौंमा ३१ हजार ५५७, दोलखामा ९४ हजार ९९८ वटालाई खोप लगाइएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा १५ हजार ९५२, सिन्धुलीमा ४५ हजार ८२५, रामेछापमा ४४ हजार ६१०, चितवनमा ७१ हजार ४१८, रसुवामा २३ हजार १६५ र धादिङमा ८३ हजार २७० वटा गरि ८ लाख ३० हजार १८७ वटा भेडाबाख्रालाई खोप लगाइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका दोलखा, काभ्रे, चितवन, नुवाकोट, रसुवा र धादिङ जिल्लामा भने भेडामा पनि खोप लगाइएको छ ।

 

प्रदेशका १३ वटा जिल्लाको एक हजार एक सय ३७ वटा खोप केन्द्र मार्फत ४ सय ६० जना भ्याक्शिनेटर मार्फत खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते पिपिआर खोप लगाउने अभियान अनुसार खोप लगाएको हो । यो अभियानबाट यस प्रदेशमा किसानले पालेका बाख्रा तथा भेडामा पिपिआर खोप लगाइने उहाँले बताउनुभयो ।

यस प्रदेशमा भेडा र बाख्राको सख्या २४ लाख ४४ हजार ८ सय ५६ वटा रहेको प्रबक्ता ढकालले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक खोप अभियान गरिएकोे बताउदैं ढकालले एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी गरी खोप लगाइएको हो । प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको बताउनुभयो ।

भेडा र बाख्रोको तुलनामा खोपको मात्रा कम रहेको र आवस्यक खोपको व्यवस्था गरिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर रामप्रकास प्रधानले बताउनुभयो । यो रोग हरेक वर्ष देखा पर्ने र एक पटक खोप लगाइसकेपछी तीन वर्ष सम्म खोप लगाउनु नपर्ने उहाँले बताउनुभयो । पिपिआर भेडाबाख्रामा विषाणुवाट लाग्ने घातक संक्रामक रोग हो। यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ ।

यो रोग नेपालका सबै जिल्लामा देखा परिसकेको छ । यो रोगकोँ खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबै भन्दा प्रभावकारी पद्धति व्यापक रुपमा खोप लगाउनु हो । यो रोग लागेका भेडा बाख्रामा ज्वरो ४० देखि ४१ डिग्री सेल्सियस १०४ देखि १०६ डिग्री फरेनहाइट आउने गरेको प्रधानले बताउनुभयो ।

भेडा बाख्रामा नाकबाट पानी बग्ने, कालान्तरमा बाक्लो गन्हाउने सिंगान बगाउने, सिंगानको पाप्रा बनि नाकको प्वाल बन्द हुने, आँखा रातो, कचेरा निस्कने, निरन्तर आशु बग्ने, गिजामा कनिका छरेजस्तो ससाना दाना देखिने, अत्यधिक रगत नमिसिएको झाडापखाला लाग्ने र जलवियोजन हुने, हाडछाला हुने गरी दुब्लाउने, स्वास फेर्ने गाह्रो हुने, शरीरको तापक्रम घटेर जाने, रोग लागेको ५ देखि १० दिनमा मृत्यु हुने जस्ता समस्या देखिने छ ।

यो रोग नियन्त्रणको सबै भन्दा उत्तम उपाय समयमै पिपिआर रोग विरुद्ध खोप लगाउनु रहेको पशु चिकित्सकहरु बताउँछन् । यस रोग विरुद्ध हरेक ३–३ वर्षमा खोप लगाउनु पर्दछ । खोप लगाउदा ३ महिना उमेर माथिका सबैलाई लगाउनु पर्दछ । यस रोगका विरुद्ध पहिलो पटक ३ महिनाको उमेर पुरा भएपछि लगाउने र तत्पश्चात खोप लगाउदा हरेक ३– ३ वर्षको फरकमा फागुन देखि चैत्र महिनामा लगाउनु पर्दछ । खोप लगाउदा सानो वा ठुलो भेडा बाख्रालाई १ एमएल मासु वा छालामुनी लगाउनु पर्दछ । अन्यत्रबाट ल्याएका भेडाबाख्राहरुलाई खोप लगाएर २१ दिन छुट्टै राख्नु पर्दछ । फार्ममा जैविक सुरक्षा कडाईका साथ अवलम्वन गर्नु पर्दछ ।

 

कृषि समाचार मुख्य समाचार समाचार समाज