हेटौंडा –१० न्युरेनीमा दुग्ध पाउडर प्लान्ट निर्माण गरिदै

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० न्युरेनीमा बागमती प्रदेश सरकारले किसानको हितका लागि दुग्ध पाउडर प्लान्ट निर्माण स्थल पुग्दा यस्तै दृष्य देख्न सकिन्छ । अहिले पाउडर बनाउने मुख्य आगो बोल्ने भवनको वाल निर्माण गर्ने काम भइरहेको छ । माथी जस्ताले छाइ सकिएको छ । दूधको पाउडल बनाउने मेसिन भारतबाट एक हप्ता अगाडी ल्याइ सकिएको छ । मेसिन कम्पाउन्ड भित्र प्याकिङ गरिएको अवस्थामा छ ।

ठाउँ–ठाउँमा पाउडर प्लान्टका लागि चाहिने आवस्यक भौतिक पूर्वाधारहरु निर्माण गरिदै छ । चालु आर्थिक वर्षको असार महिना सम्ममा न्युरेनीमा पाउडर प्लान्ट निर्माणको काम सक्नेगरी काम भइरहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताउनुभयो । हेटौंडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट भवन निर्माण भइरहेको छ । संघीय सरकारको निर्णयानुसार हाल डीडीसीकोे पशुदाना कारखानाभित्र प्लान्ट स्थापना जारी राखिएको हो । डीडीसीले लिएको ८ बिगाहामध्ये २ बिघामादुग्ध पाउडर प्लान्ट स्थापना गर्न काम भइरहेको हो ।

दुधको पाउडर प्लान्ट निर्माण भएपछी किसानले उत्पादन गरेको दूध सडकमा फाल्नुपर्ने अवस्थाको सधैका लागि अन्त्य हुने केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटा बताउनुहुन्छ । सिजनमा किसानले उत्पादन गर्ने गरेको दुधको खपत हुन नसक्दा समस्या हुने भएपनि अब भने यो समस्या सधैका लागि अन्त्य हुने उहाँले बताउनुभयो । संघीय कृषि मन्त्रालयमातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागि लिजमा लिएको थियो । त्यसमध्ये २ बिघा बोर्डले लिएको हो । उक्त भवन करिब डेढ वर्षभित्र निर्माणसम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको थियो । तर, बिभीन्न समस्याका कारण समयमानै काम गर्नका लागि बाधा पुगेको थियो । अहिले भने दु्रत गतिमा काम भइरहेको सचिब पाण्डेले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको दुग्ध विकास बोर्डको लगानीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो । पाउडर दूध उद्योगको पहिलो चरणमा कम्पाउण्ड लगाउने काम सकेर भवन निर्माण र प्लान्ट जडान गर्नका लागि आवस्यक पूर्वाधार निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । धेरै काम भइरहेको र अब छिट्टै पाउडर प्लान्ट सञ्चालन गर्न सकिने दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटाले जानकारी दिनुभयो । उहाँले कम्पाउण्ड लगाउने काम सकिएपछि भवन, फयाक्ट्रीको काम सुरु भएको बताउनुभयो । पाउडर दूधसंगै घिउ उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनीमा पाउडर प्लान्ट र सोका लागि भवन निर्माण थालिएको हो । प्लान्टले प्रदेशसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दूध पाउडर बनाउन सहज हुनेछ । मन्त्रालयका अनुसार धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भएपछि करिब ८० जनाले रोजगारी पाउनेछन् । उत्पादित धुलो दूध प्याकिङ दैनिक ५ मेट्रिकटन सात वटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहजढंगबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

प्लान्टबाट प्रदेश–२ का बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ । पाउडर प्लान्टका लागि महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गरिनेछ । बितेको आर्थिक वर्ष २०७७–०७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी काम थाल पनि बिभीन्न समस्याका कारण काममा ढिलाइ भएको जनाएको छ । प्लान्टको ४१ करोड २२ लाख ७१ हजारमा निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।

हेटौंडास्थित पशुआहार उत्पादन विकास समितिले भोगचलन गरेका सम्पूर्ण चलअचल सम्पत्ति, स्रेस्ता एवम् कागजात दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । करिब एक दशकदेखि घाटामा सञ्चालन हुँदै आएका कारण मन्त्रिपरिषद् निर्णयअनुसार समिति बिघटन गरी २५ वर्षका लागि संस्थानलाई हस्तान्तरण गरिएको हो ।

वार्षिक कम्तिमा ६१ लाख रुपियाँ नोक्सानी बेहोर्दै आएको उद्योगलाई २०६१ सालदेखि विकास समितिमा परिणत गरिएको थियो । उद्योगमा १९ जना स्थायी, सात जना दैनिक ज्यालादारीमा र एकजना अस्थायीरुपमा कार्यरत् थिए । २०२२ सालमा सरकारले पहिलोपटक क्याटल फिड प्लान्टका नाममा उद्योग सुरु गरेको थियो । प्रतिघण्टा दुई मेट्रिक टन दाना उत्पादन गर्ने उद्योगबाट पछिल्लो समय दैनिक सात मेट्रिक टनमात्र उत्पादन हुने गरेको थियो ।

कृषि समाचार मुख्य समाचार समाचार समाज स्थानीय