बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने 

काठमाडौँ । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

संघीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो । संघीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

रासायनिक मल उद्योग स्थापनाका विषयमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन तथा प्राविधिक परामर्श र छलफल प्रारम्भ गरेको छ । छलफलका क्रममा काठमाडौँ विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका संयोजक विराज सिंह थापाले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा हाइड्रोजनबाट युरिया मल उत्पादन गर्न सहज र कम खर्चिलो हुने उल्लेख गरिएको थियो ।

मन्त्रालयले उद्योग स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग हेटौँडामा आवश्यक प्राविधिक परामर्श समेत गरिसकेको छ । लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौँ विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए ।

सचिव पाण्डेका अनुसार मल उद्योगको महत्त्व र आवश्यकता बढिरहेको अवस्थामा उद्योग स्थापनाको मोडल तयार पारेर सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गरेको तयारीको हो ।

आगामी दिनको भविष्य हाइड्रोजनमा नै रहेकोले हाइड्रोजन, नाइट्रोजन र कार्बनडाइअक्साइडको प्रयोग गरेर मल उत्पादन गर्न प्राविधिक टोलीले सुझाव दिएका थिए । विद्युत्बाट हाइड्रोजन ग्यास बन्ने भएकाले प्राकृतिक ग्यासबाट भन्दा हाइड्रोजनबाट युरिया बनाउँदा सस्तो हुने र नेपालमा सबैभन्दा बढी हाइड्रोजन बन्न सक्ने अवस्था रहेकाले मल उत्पादनको गर्न सहज हुने उनीहरूको भनाई छ । हाइड्रोजनको प्रयोगबाट मल उत्पादन गरेर विश्व बजारमा निर्यात गर्न सकिने सम्भावना रहेको उनीहरूले भनाई छ ।

मल उद्योग स्थापनाका लागि आवश्यक जग्गा र भौतिक संरचना तथा मोडलसमेत प्रदेश सरकार निर्णय गरिसकेको छ । मल उद्योग स्थापनाको लागि विदेशी कम्पनीले पनि चासो दिएको र त्यसतर्फ प्रदेश सरकार अघि बढेको हो ।

कृषि समाचार प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार