बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

हेटौँडा/ बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । बैठकमा प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल भई त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका सचिव खड्काले जानकारी दिए ।

सचिव खड्काका अनुसार आजको बैठकमा यसअघि सदनमा पेश भएको विभिन्न ३ वटा विधेयकमाथि छलफल भएर समितिमा पठाइने कार्यसूचि रहेको छ ।

उक्त विधेयक सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतको लागि पेश गर्ने प्रदेशसभा सचिवालयका सचिव खड्काले बताए ।

आज बस्ने प्रदेशसभाको बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको छ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको कानून मन्त्री खनालले बताए । उनले भने, ‘प्रदेशसभामा केही विधेयक बाँकी छ । त्यसलाई आजको बैठकले पास गर्नेछ । ती विधेयकहरु पास भएपछि हामी अधिवेशन अन्त्य गछौं । समय रहेसम्म आजै अधिवेशन अन्त्य हुन्छ ।’

अधिवेशन अन्त्का लागि आजको प्रदेशसभा बैठक पछि प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ । समय रहेसम्म आजै मन्त्रिपरिषद् बैठक बसेर प्रदेशसभाको अधिवेशन अन्त्य गरिने र समय अभाव रहे भोलि गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका एक कर्मचारीले बताए ।

बागमती प्रदेशसको बैठक यसअघि गत फागुन २९ र ३० गते बसेको थियो । बागमती प्रदेशसभामा हाल नेकपा एमालेका ४३, नेकपा माओवादीका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझाका ३, नेमकीपाका २, राप्रपाका २ र जसपाका १ जना गरी १०९ जना प्रदेशसभा सदस्यहरु छन् ।

मुख्य समाचार राजनीति समाचार