मकवानपुरगढी गाउँपालिकालाई चैत १२ गते बालमैत्री घोषणा गरिदै

१० चैत,मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री घोषणा गरिदै छ । गाउँपालिकाले यहि चैत १२ गते शनिबार बालमैत्री गाउँपालिका घोषणा गर्दैछ ।

आज गाउँपालिका कै कार्यालयमा पत्रकार सम्मेलन गरेर बालमैत्री पालिका घोषणाका सम्र्पूण तयारी भैसकेको बताईएको छ । गाउँपालिकामा मुख्य चुनौतिको रुपमा स्थापित भएको बालबिवाह रोक्न आफुहरु सफल भएको र अगामी दिनमा पनि यस्ता गतिविधि क्रियाकलापहरु हुुन नदिन गाउँपालिका लागि पर्ने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।

यस्तै, मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय शासन वडा समिति ८ वटै वडामा गठन गरेको बालमैत्री स्थानीय शासन समितिका सहसंयोजक कविराज हुमागाईले बताए । विद्यालय, स्वास्थ्य संस्था, वडा, पालिकास्तरमा बालअधिकार समिति, बालबालिकाको सहभागितालाई समेत सुनिश्चित गरिएको छ ।

गाउँपालिकाका अनुसार गाउँपालिकामा ५ हजार ३ घरधुरी रहेको छ भने यहाँको जनसंख्या २५ हजार १ सय ५ रहेको छ । जसमा ८ हजार २ सय ९६ बालबालिका रहेका छन । गाउँपालिकालाई बालमैत्री घोषणापछि पनि आवश्यक काम गर्न पालिकाले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय