स्थानीय तह निर्वाचन: मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र अधिकृत तोकियो

हेटौँडा/ आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकेको छ । निर्वाचन आयोगले देशभर ६७६ निर्वाचन अधिकृत तोकिएअनुसार मकवानपुरको १० वटै स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकेको हो ।

निर्वाचन आयोगले तोके अनुसार मकवानपुरको मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठ रहेका छन् । उनलाई हेटौंडा उपमहानगर तोकिएको छ भने थाहा नगरमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईलाई तोकिएको छ ।

त्यसैगरी बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेल र मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल रहेका छन् ।

त्यसैगरी कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती,बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका अधिकृत हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत रुद्रहरी भण्डारीलाई निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

त्यसैगरी मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय मकवानपुरका अधिकृत पुर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ । प्रष्ट खबरबाट

मुख्य समाचार राजनीति समाचार