टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत चौथो दिनमै शतप्रतिशत लक्ष्य प्राप्ति

२८ चैत्र ,मक्रान्चुली- खोप अभियान शुरु भएको चौथो दिनमै मकवानपुरगढी गाउँपालिकाले टाईफाइड बिरुद्धको खोप अभियान अन्तरगत लक्ष्य अनुसार प्रगती हासिल गरेको छ ।

गत चैत्र २५ गते देखि सञ्चालन भएको अभियान अन्तरगत आज चौथो दिनमा स्वास्थ्य कार्यालय मकवानपुरको लक्ष्य अनुसारको शत प्रतिशत प्रगति हासिल भएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताउनुभयो ।

स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त लक्ष्य अनुसार शत प्रतिशत बालबालिकालाई खोप लगाई सकिएको छ । गाउँपालिकामा १५ महिनादेखि १५ बर्ष सम्मका ५३३५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य भए अनुसार आज चौथो दिन सम्म ५३२९ जनालाई खोप लगाईएको लामिछानेले बताउनुभयो ।

यस्तै भोली अभियानको अन्तिम दिन चैत्र २९ गते वडा नम्बर ५ मा रहेको एउटा संस्थागत विद्यालयमा र छुट भएका सबैलाई आफू बसेको सम्बन्धित स्वास्थ्य संस्थाहरुबाट टाइफाइड रोग विरुद्धको खोप लगाइने उहाँले बताउनु भएको छ ।

अभियानमा २७ वटा विद्यालय र ८ वटा स्वास्थ्य संस्था गरी ३५ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाईएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश मुख्य समाचार समाचार स्थानीय स्वास्थ्य