हुमागाई नै एमालेबाट मकवानपुरगढीको अध्यक्षको उमेदवार,कस्ता रहे ५ वर्षका काम ?

मक्रान्चुली- सोमबार बसेको एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले हुमागाईंलाई अध्यक्षमा उठाउने सर्वसम्मत निर्णय गरेको छ । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा मकवानपुरगढीमा पुनः बिदुर हुमागाईंलाई उठाउने निर्णय गरेको हो ।

हुमागाई २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार दोर्जे लामा स्याङ्तानलाई हराउँदै अध्यक्षमा जित हासिल गरेका थिए ।

यसैगरी एमालेले मकवानपुरगढीको उपाध्यक्षमा सन्तु पाख्रिन थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत निर्वाचनमा एमालेबाट हर्कमाया रुम्बाले उपाध्यक्षमा जित हासिल गरेकी थिइन् ।

विगत पाँच वर्षमा गरेका विकासकै कारण पुनः उनलाई अध्यक्षमा उठाउने निर्णयमा एमाले पुगेको नेताहरुले बताएका छन् । उनले ल्याएकै योजनाले पाँच वर्षभित्र मकवानपुरगढी गाउँपालिकामा व्यापक परिवर्तन आयो । जनताको खुशीसँग प्रत्यक्ष जोडिएका काममा हुमागाईंले बितेका वर्षमा धेरै काम गर्नु गरेको उनीहरुको तर्क छ । जनताले अपेक्षा गरेको भन्दा पनि बढी विकास भयो । अबको पाँचवर्ष हुमागाईंले नै नेतृत्व गरेर गाउँपालिकालाई समृद्ध बनाउन र नागरिकको जीवनस्तर उकास्न उनलाई नै अबसर दिनुपर्नेमा एमाले पुगेको एक नेताले बताए ।
कस्ता छन् त ? पालिकामा गएको पाँच वर्षका विकासका योजना :
२०७४ सालको स्थानीय निर्वाचन पछि बितेको पाँच वर्षभित्र गाउँमा अधिकांश ठाउँमा मोटर बाटो निर्माण गर्दै कच्ची सडकलाई स्ल्याब ढलान गर्दै पक्की बनाइएको छ । ८ नम्बर वडा बुढीचौरबासीलाई भिरपाखाबाट हिँड्न समस्या हुने भएपछि पर्यटन प्रवद्र्धनलाई फाइदा पुग्ने गरी साढे ३ किलोमिटर खुँडेधार पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकालाई दुई भागमा विभाजन गरेको सामरी र ज्यामिरे खोलामा गरेर तीन वटा पक्की पुल, एउटा बेलिब्रिज, तीन वटा तीन पाङ्ग्रे सवारी गुड्ने फलामे पुल, पाँच वटा झोलुङ्गे पुल निर्माण गरेर पालिकाबासीलाई आवतजावतमा सहजता तुल्याउने काम भएका छन् । जसका कारण सबै वडाबाट पालिकाबासी एकअर्काको वडामा र गाउँपालिका केन्द्र पुग्न सहज हुनुका साथै बाढी आउँदा विद्यालय जान नपाएका बालबालिकाले सहजसँग पठनपाठन गर्न पाएका छन् ।

त्यति मात्र हैन पालिकाले “मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार , शिक्षा, कृषि ,पर्यटन र पुर्वाधार ” भन्ने मुल नाराका साथ योजना बनाई काम गर्दा योजना अनुसार कृषि क्षेत्रमा क्रान्ति नै आएको छ । गाउँपालिकाभित्र हाल एक हजार वटा तरकारी टनेल छन् । पालिकाको कृषि प्राथमिकताका योजनाले किसानहरु कृषि तथा पशुपालनबाटै मनग्य आयआर्जन गर्न सक्ने भएका छन् । दुधमा प्रती लिटर एक रुपैयाँ अनुदान तथा खाद्यान्न बालीमा प्रती केजी दुई रुपैयाँ अनुदानले कृषि पेशामा लाग्ने किसानलाई धेरै नै प्रभावित पारेको छ ।

त्यति मात्र हैन बाँझो जमिन प्रयोगमा ल्याउने उदेश्यले फलफूल खेतीमा अनुदान , माछा पालनमा अनुदान , बाख्रापालन तथा बुंगुरपालन लगायतमा अनुदानको ब्यवस्थाले बन्माराको झाडी भएको जग्गामा अहिले ड्रागनफ्रुड फल्न थालेका छन् । शहर पसेकाहरू बाख्रापालन तथा पशुपालनका लागि गाउँ फर्कन थालेका छन् । बसाइँसराइ गरि आउनेका लागि पालिकाले ५० हजार अनुदान दिने ब्यवस्था गरेको छ ।

साना किसानलाई बित्तिय पहुँच पुर्याउन बैंकबाट २ लाखसम्म न्यूनतम ब्याजदरमा ऋण झिक्ने व्यवस्था पाउने ब्यवस्था भएपछि गाईंर्भैसी किनेर दुध बिक्रीबाट आम्दानी गरिरहेका किसान ख्ुशी भएका छन् ।

खानेपानीको निकै नै समस्या भोगीरहेका मकवानपुरगढीको बडा नम्बर १, २, ३, ४, ७ र ८ वडामा करोडौंका खानेपानी योजना निर्माण भएका छन् । जसमध्ये ३ नम्बर वडाको टावरडाँडामा खानेपानी तथा देविडाँडा खानेपानी योजना संचालन भएपछी त्यस क्षेत्रका जनतामा बर्षौ देखिको खानेपानी समस्या समाधान भएको छ । सोही वडामा जागृती खानेपानी योजना पनि सफल रुपमा संचालन भैरहेको छ ।

ऐतिहासिक मकवानपुरगढी दरबार ,ढुङ्गेगढीको पुनर्निर्माण देखि , विजयपार्क निर्माण , लगायतका पर्यटन सँग सम्बन्धित योजनाहरु अगाडी बढाइएका छन् । सामारी खोलामा तटबन्धको काम अगाडी बढेको छ ।

हरेक नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने उदेश्यका साथ हरेक वडामा स्वास्थ्य चौकी निर्माण भएका छन् । वडा नम्बर ६ को डुम्रेकुनामा १५ सैयाको सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । समग्र गाउँपालिकाको विकासका योजनामा सम्पुर्ण वडा अध्यक्षहरु लगायत सबै जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको भन्दै उनले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति रोचक समाज स्थानीय