मकवानपुरगढीमा टाइफाइड विरुद्धको खोप अभियान लक्ष्य अनुसारको प्रगति

२७ चैत्र ,मक्रान्चुली- मकवानपुरगढीमा टाइफाइड विरुद्धको खोप अभियान लक्ष्य अनुसार प्रगति उन्मुख रहेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त लक्ष्य अनुसार ३ दिनमा नै ८९ प्रतिशत प्रगति भएको छ। पालिका भरीमा लक्ष्यित समूह ६ हजार ७२७ जना रहेकोमा तीन दिनमै ४ हजार ७६० जनाले खोप लगाएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताउनुभयो । स्वास्थ्य कार्यालयले भने पालिका भरीमा ५ हजार ३३५ जनालाई खोप लगाउने लक्ष्य राखेको थियो ।

लामिछानेले दिनुभएको तथ्यांकअनुसार यो ३ दिनको अवधिमा वडा नम्बर १ मा खोप लगाउने लक्ष्यित संख्या ८७६ जना रहेकोमा ६६८ जनामा खोप लगाइएको छ । वडा नम्बर २ मा ११२१ जना मध्ये १०२६ जनाले खोप लगाएका छन् । यसैगरी वडा नम्बर ३ मा ८१३ मध्ये ५४७ जना , वडा नम्बर ४ मा ४४२ मध्ये ३२८ जना र वडा नम्बर ५ मा १२३६ जना मध्ये ४६८ जनामा टाइफाइड विरुद्धको खोप लगाइएको छ ।

त्यस्तै वडा नम्बर ६ मा ७४० मध्ये ५२१ , वडा नम्बर ७ मा ७८३ मध्ये ६५४ र वडा नम्बर ८ मा ७१६ जना मध्ये ५४८ जनामा खोप लगाइएको छ । तर गाउँपालिकाको लक्ष्य अनुसार भने जम्मा ७१ प्रतिशत मात्र खोप लगाइएको उहाँले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकामा १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने यो अभियान चैत्र २९ गतेसम्म संचालन हुनेछ ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य