पहिलोपटक गढीको भानु मावि एसईई परिक्षा केन्द्र,सहभागी परिक्षार्थीलाई आवास र यातायातको सुविधा


७ बैशाख , मक्रान्चुली- राष्ट्रिय परिक्षा बोर्डले यहि बैशाख ९ गते देखि संचालन गर्न लागेको एसईई परिक्षा अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माविलाई पहिलो पटक यस वर्ष परिक्षा केन्द्र तोकिएको छ ।

पालिका भरिका ९ वटा मावि स्तरका विद्यालयहरु मध्ये ६ वटा विद्यालयहरुबाट १८२ जना परिक्षार्थी भानु मावि केन्द्रमा हुने परिक्षामा सहभागी हुँदैछन् । वडा नम्बर १ को रानीसेरा मावि,वडा नम्बर २ को चण्डीका मावि,वडा नम्बर ५ को शारदा मावि, वडा नम्बर ६ मा रहेको जनक मावि र जाल्पादेवी मावि तथा वडा नम्बर ७ मा रहेको जनता मावि को केन्द्र भानु मावि तोकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताउनुभयो । उहाँका अनुसार पालिका भरिका ९ बटा विद्यालयबाट छात्र १११ र छात्रा १७७ जना गरि जम्मा २८८ जना परिक्षार्थीहरु परिक्षामा सहभागी हुनेछन् ।

परिक्षामा सहभागी हुने टाढाको विद्यालयका विद्यार्थीहरुका लागि भानु माविले परिक्षा अवधिभर सुरक्षित आवासको ब्यवस्थापन गर्ने जनाएको छ । संवेदनशीलतालाई मध्येनजर गर्दै छात्र तथा छात्राहरुलाई शिक्षकहरुको निगरानीमा अलग अलग ठाउँमा राखिने भानु मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रीनले बताउनुभएको छ ।

साथै अन्य विद्यालयका विद्यार्थीहरुका लागि आवतजावतका लागि यातायातको ब्यवस्थापन गाउँपालिकाले गर्ने बताइएको छ ।

पालिकाको केन्द्र तोकिएको भानु माविको परिक्षा केन्द्र भने हेटौंडा ५ मा रहेको बालज्योती माविमा तोकिएको छ । अर्को मावि वंशगोपाल प्राविधिक विद्यालयको हेटौंडा सोलिडायरिटी विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ । यसैगरी रुपनारायण माविको परिक्षा केन्द्र भिमफेदीको महेन्द्र माविमा तोकिएको छ ।


परिक्षाकै विषयलाई लिएर विद्यालयमा आज भएको सरोकारवालाहरुको बैठकमा पालिकाको भानु माविलाई एसईईको परिक्षा केन्द्र तोकिनु सुखद रहेको भन्दै परिक्षालाई ब्यवस्थित र मर्यादित बनाउन कुनै कसर नराखी यसलाई अवसरको रुपमा लिनुपर्नेमा सबैको जोड रहेको थियो ।

अर्थ बागमती प्रदेश मुख्य समाचार रोचक शिक्षा समाचार स्थानीय