त्रिविको ताला खोल्न अनेरास्ववियुको तीनदिने अल्टिमेटम

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले लगाएको ताला खोल्न तीन दिनको अल्टिमेटम दिएको छ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बुधबार विज्ञप्ति जारी गर्दै अबको ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नगरे अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्ने चेतावनी दिएकी छन्। उनले त्यसपछि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न अनेरास्ववियु तयार रहेको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मेवार स्वयं सरकार र सम्बन्धित पक्ष हुने चेतावनीसमेत दिएकी छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अपेक्षा थियो सरकार विश्वविद्यालयप्रति संवेदनशील हुनेछ र ताला खोलेर विश्वविद्यालयको काम पुनः सञ्चालन गराउनेछ। विडम्बना, विश्वविद्यालयमा तालाबन्दी गरिरहेको एक गैरराजनीतिक गिरोह जसले त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले गरेको आक्रमणपछि अदालतबाट माग गरेको धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्ने अभिप्रायले गरेको तालाबन्दीलाई वैधानिकता दिने काम मात्र गरेन राज्यको प्रहरी प्रशासनको उपस्थितिमा ताला लगाउने र ताला लगाउनेलाई पूर्ण सुरक्षासहित संरक्षण गर्ने काम पनि गर्‍यो। यसका नजिर र पुष्टिहरू तपाईं हाम्रो अगाडि नै छर्लङ्ग छन् ।’

मुख्य समाचार