मकवानपुरगढीमा मिलेमतोमा सामरी खोला दोहन,रातीसम्म चल्छन् मेशिन

हेटौंडा- मकवानपुरगढी गाउँपालिका कार्यालयका कर्मचारीको मिलेमतोमा सामरी खोलाको ठाउँ ठाउँमा दोहन गर्न सुरु गरिएको छ । असार नजिकीएसंगै बिहानको झिसमिसे देखि साँझ अवेर सम्म खोला खन्न थालिएको हो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र ६ मा पर्ने सामरी खोलामा वषौ देखि नविकरण समेत नभएका क्रसर उद्योग र बालुवा उद्योगहरुले गतवर्षकै ग्राभेल उत्खनन् गरेको एक करोड बुझाउन बाँकी छ । पहिलेकै रकम बाँकी भइरहेको समयमा फेरी तीनै क्रसर उद्योगलाई पोस्नेगरी सामरी खोलामा बाढी आइरहेकै समयमा पनि एक्साभेटर लगाएर उत्खनन् गरिएको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन् ।

पैसा नतिर्ने क्रसर उद्योगलाई फेरी पनि पोस्नेगरी गाउँपालिकाका कर्मचारीले सेटिङ गरेर फेरी पनि खोलाबाट ग्राभेल उत्खनन् गर्न दिइएको हो । मकवानपुरगढी गाउँपालिकाको सबै क्रसर उद्योग र वालुवा उद्योगमा ग्राभेर भरिभराउ छ । तै पनि फेरी पैसा नतिर्ने क्रसर उद्योगले यो उत्खनन्का लागि भनेर १७ लाख रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरिएको भन्दै अबैध तरिकाले उत्खनन् गर्न दिइएको गाउँपालिकाका एक कर्मचारीले बताए ।

राजस्व साखाका प्रमुख र हाकिम समेतको मिलेमतोमा आईई रिपोर्टलाई वेवास्ता गर्दै तोकिए भन्दा बडी गहिराइमा रहेर उत्खनन् गरिएको हो । जेठ मसान्त सम्म खन्न पाइने नियमका कारण सुक्रबारबाट खोला उत्खनन् गरेर क्रसर उद्योगलाई ग्राभेल दिन सुरु गरिएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । क्रसर उद्योगले तिर्न बाँकी रकम असार १५ गते सम्म बुझाउने सहमती अनुसार उत्खनन् गर्न दिइएको उहाँले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ को सिमल्टार, भालुखोला, वडा नम्बर–६ को बागदली लगायतका क्षेत्रमा चार वटा एक्साभेटरले उत्खनन् गरेर क्रसर उद्योगमा लैजाने गरेको गाउँपालिकाका राजश्व साखाका प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । गतवर्षको पनि ग्राभेलको रकम नतिरीकन ग्राभेल उत्खनन् गर्ने क्रसर उद्योगहरु आमभन्ज्याङ्ग एग्रिगेढ, साइबाबा क्रसर उद्योग, सामरी बालुवा उद्योग लगायतका रहेका छन् । गतवर्षको पनि रकम बुझाउने सर्तमा मात्र खोला उत्खनन् गर्न दिइएको न्यौपानेले बताउनुभयो ।

जताजता क्रसर उद्योग उतैउतै उत्खनन्

जेठको अन्तीममा आएर सामरी खोलामा उत्खनन् गर्दा धेरै ग्राभेल जम्मा भएको क्षेत्र भन्दा पनि जता क्रसर उद्योग छ त्यतै अघिल्तीरबाट मात्र खोला उत्खनन् गर्न दिइएको छ । आईई गरेको क्षेत्र, तोकिएको मापदण्ड भन्दा पनि एक्साभेटरलाई खन्न क्रसर उद्योगले जता लगाइयो त्यतैबाट मात्र उत्खनन् गरिएको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् ।

क्रसर उद्योगलाई कहानिरको खोला खन्दा सहज हुन्छ र ढुवानी गर्नका लागि सजिलो हुन्छ त्यहीनै उत्खनन् गरिएको छ । सामरी खोलामा बाढी आएको समयमा खोला उत्खनन् गर्दा झनै समस्या हुने र बाढी बस्तीमा पस्न सक्ने स्थानीय वासिन्दाहरुले बताएका छन् ।

बिशेषगरी वर्षायाममा खोला उत्खनन् गर्न नदिने संघीय सरकारको नीति हो । असार, साउन र भदौमा खोलामा बाढी आउने भएकाले उत्खनन् गर्न नदिने भन्ने हो । तर, यस वर्ष जेठको २० गतेबाटनै खोलामा बाढी आएको छ । पानी दिनहुपरी रहेको छ । तर, कर्मचारीलाई खोला खनेर क्रसर उद्योगलाई पोस्न पाएपछी खोलामा बाढी आएर स्थानीयलाई जोखिम बढेकोमा कुनै वास्तानै नभएको सामरी खोला आसपासका क्षेत्रका नगरिकहरु बताउँछन् ।

दुइपटक ठेक्का नलागेपछी अमानतमा उत्खनन्

मकवानपुरगढी गाउँपालिकाले खोला उत्खनन् गरेर ग्राभेल बिmक्रीका लागि भनेर दुइपटक आवहान गरेको ठेक्का नलागेका कारण अमानतमा खोला उत्खनन् गरिएको हो । खोला उत्खखन् गरिएको एक्साभेटरले टिप्परमा चुली लगाएर क्रसर उद्योग पुर्याउने गरिएको छ । टिप्परको ढाला सम्म मात्र टिपको हिसाबले बिmक्री गर्नुपर्ने गाउँपालिकाका कर्मचारीको मिलेमतोमा चुली लगाएर उत्खनन् गरिएको हो ।

खोलामा उत्खनन् गरेर क्रसर उद्योगमा लगिएको ग्राभेल क्रसर उद्योगको सेटिङमा केही टिप्परको रसिद समेत नकाट्ने गरिएको छ । यही हिसावले उत्खनन् गरीरहने हो भने क्रसर उद्योगले गाउँपालिकामा जम्मा गरिएको रकम भन्दा धेरै उत्खनन् हुने छ । अमानतमा खोलामा कर्मचारीले काटिरहेको रसिद पैसा नगद बुझाएर मात्र ग्राभेल बिक्री गर्नुपर्ने स्थानमा पहिले एकमुष्ट रकम गाउँपालिकामा जम्मा गर्ने र पछी रसिद काट्ने हुँदा समस्या देखिएको छ ।

क्रसर उद्योगले रसिद काटेको भन्दा धेरै टिप ग्राभेल उद्योग प्राङगनमा पुर्याइ सकेका छन् । क्रसरले लिएको रसिद र उद्योगमा अहिले जम्मा भएको ग्राभेल नाप्दा पनि यो स्पष्ट देखिन्छ । अझ अहिले लगिएको ग्राभेल पनि पहिलेको ग्राभेलसंग मिसाएर क्रसरले तयारी वालुवा र ग्राभेल उत्पादन गरिसकेका छन् । यो समाचार जनपत्र डटकमबाट साभार गरिएको हो ।

बागमती प्रदेश मुख्य समाचार समाचार स्थानीय