हेटौंडाको चार वडामा स्वास्थ्यचौकी भवन बन्दै 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सबै वडामा रहेका स्वास्थ्य संस्थाको आफ्नै भवन निर्माण गर्ने योजना अनुरुप स्वास्थ्य संस्था भवन नभएका चार वटा वडाका स्वास्थ्यचौकी भवन निर्माणको काम भइरहेको छ ।

हेटौंडाको वडा नम्बर– १, ४, ५ र १० मा नयाँ भवन निर्माण कार्य भइरहेको छ । वडा नम्बर ५ को भवन निर्माण कार्य चालु आर्थिक वर्षको अन्तसम्ममा सम्पन्न हुने क्रममा रहेको छ । उपमहानगरपालिकामा गत दुई वर्षदेखि सञ्चालन हुँदै आएको सिमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिक रुपमा अति विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रमबाट १२८ परिवार लाभान्वित भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताउनुभयो ।

यसैगरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सुत्केरी पश्चातको पहिलो हप्तामा स्वास्थ्यकर्मी सहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोशेली सहित भेटघाट गर्ने कार्यक्रम अन्तर्गत जम्मा १ हजार १९९ जना सुत्केरी महिलासँग भेटघाट गरिएको छ। गर्भवती महिलाहरुको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई कम्तिमा एक पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २११ जना गर्भवती महिलाले सेवा लिएका छन् ।

यस उपमहानगरपालिकाको समेत समन्वय र सहयोगमा हेटौंडा अस्पतालमा शुरु गरिएको मृगौला डायलासिस सेवा हेटौडा अस्पतालमा चालु रहेको छ । हाल सो केन्द्रमा जम्मा ८ वटा डायलाइसिस मेसिन रहेको छ । साथै उपमहानगरपालिकाबाट चालु आर्थिक वर्षमा २ वटा डायलाइसिस मेसिन उपलब्ध गराइएको छ चौलागाईले बताउनुभयो । आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको सुनिश्चितताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने भनि तोकेका औषधीहरु सहज र सरल रुपमा उपलब्ध गराइएको छ।

दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिहरुलाई लक्षित गरी वडा वडामा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्थ्यकर्मीहरुको परिचालनबाट उपचार र सहयोगको कार्यक्रममा १६ जना सेवाग्राहीले सेवा पाएका छन् । साथै ९ जना स्वास्थ्यकर्मीले १४ दिने प्यालिएटिभ तालिम लिएका छन् ।
महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सर जस्ता घातक रोगहरुको निःशुल्क परीक्षण गर्न यस वर्ष ३ स्थानमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३७० जना महिलाहरुले सेवा लिएका छन् ।

नेपाल रेडक्रस सोसाइटीसँगको सम्झौता अनुसार उपमहानगरपालिकावासीलाई ४११ पोका रगत १७४ जनालाई निःशुल्क उपलब्ध गराइएको उपमहानगरपालिका स्वास्थ्य साखाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो । कोभिड–१९ को महामारीको कारण मृत्युवरण गर्न पुगेका नागरीकहरुको शव व्यवस्थापनको लागि शव वाहन नहुँदा ज्यादै समस्या पर्न गएको तथा अन्य कारणले मृत्युवरण गरेका व्याक्तिहरुको शव ओसार पसार गर्न उपमहानगरपालिकाले १ शव वाहनको व्यवस्था गरेको छ।

राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत यस उपमहानगरपालिकामा सेवारत ९२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन स्वरूप पोशाक सुबिधा, संचार सुबिधा, यातायात खर्च व्यवस्था गरिएको उहाँले बताउनुभयो । साथै स्वयंसेविकाहरुलाई आधारभूत तथा आकस्मिक सेवा अन्तर्गत आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी प्राथमिक उपचारबारे अभिमुखीकरण तालिम दिइएको छ। उपमहानगरपालिका अन्तर्गतका ६ वटा स्वास्थ्य चौकीहरुको न्यूनतम मापदण्ड अनुगमन गरी स्वास्थ्य संस्थाहरुबाट प्रवाह भैरहेको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिको लागि पहल गरिएको छ।

मुख्य समाचार