भेटेरिनरी अस्पताल हेटौडाको गम्भीर लापरबाही,लाखौं मुल्यको घाँसका बिरुवा बेवारिसे छाडियो

८ साउन,मक्रान्चुली- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौडाले घाँसको बिरुवा बितरणमा लापरबाही गरेको पाइएको छ ।

केन्द्रले गत आर्थिक बर्षको अन्तिममा लाखौ रुपैया मूल्य बराबरको घाँसको बिरुवा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका कार्यालय नजिक वडा नम्बर ३, मक्रान्चुलीको चौतारी परिसरमा तेत्तीकै बेवारिसे फालिएको छ । विभिन्न जातका घाँसका बिरुवा सम्बन्धित निकायलाइ जिम्मा नै नलगाइ बेवारिसे रुपमा फालेर गएको छ । 

यस बिषयमा मकवानपुरगढी गाउँपालिका कार्यालयका पशुविकास शाखा प्रमुख सत्यनारायण साहसँग बुझ्दा यस विषयमा आफुहरुसँग कुनै समन्वय नभएको र बिरुवा किन ल्याएर फालियो भन्ने बिषयमा आफुलाइ जानकारी नभएको बताउनु भयो । उक्त घाँसको बिरुवा पशु सेवा विज्ञ केन्द्रका योजना शाखाका कर्मचारी देबराज पराजुलिले ल्याएर छोडेर गएको बुझिएको छ । तर पराजुलीले भने उक्त घाँसको बिरुवा मकवानपुरगढीका पशु शाखाका कर्मचारीलाई बुझाएर गएको आफुसँग भर्पाइ रहेको बताएका छन् ।

यस विषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौडाका प्रमुख ब्रज किशोर ठाकुरसँग कुराकानी गर्दा माग भए अनुसारको घाँसको बिरुवा पठाईएको बताउनु भयो । घाँसको बिरुवा गाउँपालिकाले नै माग गरेको हो त ? भनी प्रश्न गर्दा त्यस विषयमा स्पष्ट जवाफ नदिई किसानले घाँसको बिरुवा माग गरेकाले पठाइएको घुमाउरो जवाफ दिएका छन् । आफुले गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान , पशुविकास शाखा प्रमुख सत्यनारायण साहलाई बिरुवा पठाउने जानकारी गराएको उनको भनाई छ ।

यता सो विषयमा गाउँपालिका अध्यक्ष स्याङ्तानसँग बुझ्दा फोन सम्पर्क चैं भएको जानकारी दिँदै सो समय हुँदा आफू बैठकमा रहेकाले स्पष्ट कुरा नभएको जवाफ दिनुभयो ।

बिज्ञ केन्द्रबाट आएको घाँसको बिरुवा समयमै किसानले नपाउँदा  सुकेर खेर गएको छ । लाखौँ रुपैयाँ खर्चिएर उत्पादन गरिएको घाँसको बिरुवा किसानलाइ बितरण नगरी खेर फालिएकोमा किसानहरुले भने चिन्ता व्यक्त गरेका छन् । वडा तहसम्म पुर्याउनु पर्ने घाँसका बिरुवा कमिसनको खेलमा यस्तो लापरबाही काम गरेको हुन सक्ने उनीहरुको तर्क छ ।

कृषि समाचार बागमती प्रदेश मुख्य समाचार