एकथरी अब बुढाहरू चाहिँदैन भन्दैछन्, त्यसले समाज भत्काउँछ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा, प्रौढ र वृद्धको संयोजनबिना समाज गतिशील रुपमा अघि बढ्न नसक्ने बताएका छन्। 

काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकथरी मान्छेहरु आजभोली बुढाहरू चाहिँदैन भन्न थालेकोप्रति लक्षित गर्दै यस्तो भनेका हुन्। 

‘आजभोली बुढाहरू चाहिँदैन, प्रौढहरु चाहिँदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थाल्याछन्,त्यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन।’ उनले भने, ‘समाजका निम्ति युवा पनि चाहिन्छ, प्रौढ‚ वृद्धवृद्धा सबै चाहिन्छ। सबैलाई उचित सम्मान र समायोजन गरेर मात्रै राजनीति, पार्टी‚ समाज र राष्ट्र अगाडि जान्छ।’

उनले युवाहरु चाहिँदैन भन्यो भने पनि समाज लँगडो हुने बताए। ‘यो परिवर्तन नरुचाउनेहरु अनेक बहानामा कहिले युवाहरुलाई निषेध गर्न खोजेर, कहिले वृद्धहरुलाई निषेध गर्न खोजेर‚ कहिले नेताहरुलाई निषेध गर्न खोजेर समाज भत्काउने‚ परिवर्तन भत्काउने कसरत भएका छन् भन्ने तपाइ हामीले बुझ्नु जरुरी छ।’ उनले कार्यकर्तालाई भने। 

सबै उमेर समूहका सबै पार्टीका नेता उस्तै हुन् भन्ने तर्क वाहियात भएको भन्दै उनले नेताहरुलाई गाली गर्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरे। 

मुख्य समाचार