आज नागपञ्चमी, नागको पूजा गर्ने दिन

 सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्।यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि  विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। 

चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ। 

 मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ।

एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने अर्कातिर भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका  छन्। यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकार रहेको उल्लेख छ। 

मुख्य समाचार