राष्ट्रपतिबाट गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्च तहमा बस्ने व्यक्तिहरूले नै संविधान मिच्ने र गणतान्त्रिक संविधानको डुंगामा प्वाल पार्ने गरेको बताएका छन्। 

नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै आइतबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गरी उच्च तहमा बस्ने व्यक्तिहरूले समेत संविधान मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाएका हुन्। 

उनले संघीयता मिच्नेहरूलाई रोक्न उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए। उनले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभई नहुने भन्दै संघीयतामा गए पनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा त्रुटी भइरहेको बताए। संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गरे। 

उनले भने, ‘अहिले म कसैको नाम यहाँ लिन चाहन्नँ, उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिचिदिने जुन काम अहिले भइरहेको छ, कोही पनि जिम्मेवारी छैन। भेटेसम्म यो शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्र डुंगामा प्वाल पार्दिने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नको निम्ति पनि हामीले लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने विषय महत्वपूर्ण छ। संघीयता बचाउन उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ।’

मुख्य समाचार राजनीति समाचार