बारा बस दुर्घटनामा ज्यान गुमाएका १६ जना मध्ये १५ जनाकाे परिचय खुल्यो


२० असोज,बारा/जीतपुर सिमरा उपमहानगरपालिकामा आज (बिहिवार) भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको परिचय खुलेको छ । जसमध्ये सख्त घाइते भई हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा २ जना र सहकारी अस्पतालमा १ जना तथा भरतपुर लैजाने क्रममा १ जनाको ज्यान गएको हो । 

ज्यान गुमाइ सनाखत हुनेहरुमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा– १६ की मुन्ननी देवि चौरसिया रहेका छन् ।

यस्तै हेटौँडा–७ की शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन,८ जनालाई विरगंज र ५ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको साथै ४ जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसमा ५२ जना रहेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जनाउनुभएको छ ।

मुख्य समाचार समाज