मकवानपुरगढीमा भेट्रान्स फुटसल प्रतियोगिता हुने

३ कार्तिक,मक्रान्चुली- शुभ दिपावलीको अवसरमा मकवानपुरगढी गाउँपालिकामा भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुरगढी-४ मा रहेको प्रतिभा युवा क्लबको आयोजनामा ३० बर्षमाथिको भेट्रान्स फुट्सल प्रतियोगिता हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी आयोजक क्लबका अध्यक्ष हेम बहादुर योन्जनले जानकारी दिनुभयो ।

यहि कार्तिक ६ गतेदेखि मकवानपुरगढी गाउँपालिका-३ स्थित भानु मिनीपिच (फुटसल)मा सुरु हुने प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडी तथा क्लबले मात्रै सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगिताको बिजेता टोलीले खसी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेता हुने  टोलीले बोका र तेस्रो हुने टोलीले कुखुराको भाले सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नक आउटको आधारमा हुने प्रतियोगिताको खर्च २ लाख ३५ हजार हुने आयोजकको अनुमान छ । टिम दर्ताको अन्तिम मिति कार्तिक ५ गते ४ बजेसम्म रहेको छ भने ५ बजे मकवानपुरगढी-४ स्थित रुद्रबाटीकामा टाइसेट तानिने आयोजकले जनाएको छ ।

खेलमा सहभागिताको लागि टिम दर्ता शुल्क २ हजार लाग्नेछ भने टिम दर्ता गराउदा खेलाडीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी र फोटो अनिवार्य ल्याउनु पर्ने जनाइएको छ ।

खेलकुद मुख्य समाचार समाचार स्थानीय