मंसिर ४ गतेसम्म सहकारीहरुको साधारणसभा नगर्न प्रदेश सहकारी मन्त्रालयको सूचना


२१ कात्तिक,हेटौंडा- यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको आचार संहिता लागिसकेकोले निर्वाचन हुने दिन मंसिर ४ गते सम्म बागमती प्रदेशभरका सबै सहकारी संघ, संस्थाहरुको साधारणसभा नगर्न बागमती प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आग्रह गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले निर्वाचनको समयमा सहकारी संघ, संस्थाले साधारण सभामा जनप्रतिनिधि तथा उम्मेद्वारहरु लाई अतिथिको रुपमा आमन्त्रण गर्दा निर्वाचन आचार संहिता उल्लंघन हुन सक्ने अवस्था भएकोले मंसिर ४ गतेसम्म सहकारीको साधारण सभा लगायतको कार्य नगर्न, नगराउनुहुन अनुरोध गरेको हो ।

यो समय सहकारी संस्थाको नियमित साधारण सभा गर्ने समय भएतापनि निर्वाचनको गतिबिधिलाई प्रभावित हुने भएकोले सहकारीको साधारण सभा निर्वाचन सकिएपछि गर्न निर्वाचन आयोगले समेत अनुरोध गरेको छ ।

आइतबार मकवानपुर जिल्ला सहकारी संघले पनि जिल्ला भित्रका सहकारी संघ-संस्थाहरूलाई मंसिर ४ गतेसम्म सहकारीको साधारणसभा नगर्न सुचना जारी गरेको थियो ।

बागमती प्रदेश मुख्य समाचार सहकारी