धान खरिद गर्ने बारे मकवानपुरगढी गाउँपालिकाले प्रकाशित गर्यो सूचना


२९ कार्तिक,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार धान खरिद गर्ने बारेको सुचना प्रकाशन भएको छ । गाउँपालिकाको कृषि विकास कार्यक्रम तर्फ खाद्यान्नबाली खरिद बिक्री प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत धान खरिद गर्ने बारेको सुचना प्रकाशित भएको हो ।

गाउँपालिकामा सूचीकृत भएका सहकारी संस्थाहरुले नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा गाउँपालिकाका कृषकहरुबाट उत्पादित धान बाली खरिद गर्न सूचना प्रकाशन गरिएको गाउँपालिका कार्यालयका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

उहाँका अनुसार मकवानपुरगढी गाउँपालिका भरिमा ६ वटा सहकारी सुचिकृत रहेका छन् । जसमा वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्था र युथ भिजन बहुउद्देश्यीय सहकारी संस्था, वडा नम्बर ४ मा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था, वडा नम्बर ५ मा रहेको तिलगंगा महिला बहुउद्देश्यीय सहकारी संस्था र स्वरोजगार सानाकिसान कृषि सहकारी संस्था तथा वडा नम्बर ६ मा रहेको एकीकृत शत्रुजीव ब्यवस्थापन (आई. पि. एम. ) कृषक सहकारी संस्था सुचिकृत रहेका छन् ।

नेपाल सरकारले तोके बमोजिम धानको खरिद न्युनतम समर्थन मुल्यमा सहकारीहरुले धान खरिद गर्नुपर्नेछ । सरकारले यस वर्षका लागि मोटा धानको प्रती केजी २९ रुपैयाँ ६७ पैसा र मध्यम धानको प्रती केजी ३१ रुपैयाँ २८ पैसा मुल्य तोकेको छ ।

न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने सहकारीलाई र बिक्री गर्ने उत्पादक कृषकलाई गाउँपालिकाबाट प्रति केजी थप ४ रुपैया (२ रुपैया कृषक र २ रुपैया सहकारी) प्रोत्साहन अनुदान उपलब्ध गराउने व्यवस्था रहेको कृषि शाखा प्रमुख चौधरीले बताउनु भएको छ ।

अर्थ कृषि समाचार मुख्य समाचार समाचार समाज सहकारी स्थानीय