नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार

 

काठमाडौं । नयाँ सत्ता समीकरण बनेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएसँगै एमालेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ।

प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन्। यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता थालेका छन्।

प्रचण्ड र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको जोडबल र पार्टी केन्द्रीय कमिटीदेखि जिल्ला नेतृत्वसम्मको सुझावका आधारमा नेपाल सरकारलाई निःशर्त समर्थन गर्न भने तयार भइसकेका छन्।बुधबार नेपालले केन्द्रीय कमिटीका सदस्य, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र जिल्ला कमिटीका अध्यक्ष, सचिवहरूको भर्चुअल बैठक राखेर सरकारमा सहभागिता र वाम एकताका विषयमा सुझाव मागेका थिए।

पार्टीका अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई तत्काल समर्थन गर्न र विगतका गल्ती कमजोरीको समीक्षा गरी भावी दिनमा मनमुटाव नहुने ग्यारेन्टीसहित एकताको गृहकार्य गर्न पार्टी अध्यक्ष नेपाललाई ‘म्यान्डेट’ दिइसकेका छन् । यो म्यान्डेटसँगै एमाले नेतृत्वसँग वार्ता र सम्वादका लागि नेपाल तयार मात्र भएनन्, एमालेले राष्ट्रपतिका लागि गरेको प्रस्तावमा सकारात्मकसमेत बनेका छन्।

एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार पार्टी अध्यक्ष ओली पार्टी एक हुने अवस्थामा नेपाललाई राष्ट्रपति बनाउन र सम्मानित नेता झलनाथ खनाललाई वरिष्ठ नेता बनाएर पुनः पार्टीमा भित्र्याउन तयार छन् । ओलीको यो लाइनअनुसार बुधबार मात्र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतसहतिका नेताले नेपाललाई भेटेर सरकारमा सहभागी हुन र पार्टी एकता गर्न तेस्रो पटक प्रस्ताव गरेका छन्।

यसअघि मङ्गलबार एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टिमले पनि नेपाललाई भेटेर यही प्रस्ताव राखेको थियो । यद्यपि, नेता नेपालले पौडेललाई नभेटेको बुधबारको भर्चुअल बैठकमा बताएका थिए।कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै एमाले नेताहरू तत्काल नेकपा एस र विस्तारै माओवादी केन्द्रसँग पनि एकता गरेर पुनः बृहत् वाम शक्ति निर्माण गर्नुपर्ने पक्षमा छन्। यो समाचार आजको द नेपाल टपमा प्रकाशन भएको छ ।

मुख्य समाचार राजनीति