मकवानपुरगढीमा देखापर्यो पशुमा लाग्ने रोग ‘लम्पी स्किन’,सावधानी अपनाउन आग्रह

 

१७ पौष,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देखापरेको छ । वडा नं- ३ का ३ वटा गाईमा ‘लम्पी स्किन’ रोग देखिएको हो ।

स्थानीय मधुसुधन दाहालको लक्ष्मीनाराणयण बहुद्धेश्यीय कृषीफर्मका गाईहरुमा रोगको लक्ष्यण देखा परेपछी फर्मका ८ वटा गाईहरुको स्वाब संकलन परिक्षण गर्दा ३ वटा गाईहरुमा ‘लम्पी स्किन’ रोग पुष्टी भएको गाउँपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख सत्यनाराण शाहले बताउनुभयो ।

रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, आँखामा कचेरा लाग्ने, सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने र दुध उत्पादन समेत घट्ने शाहले बताएका छन् ।

’लम्पी स्किन’ रोगको खास उपचार नभए पनि गाईभैंसीमा लक्षण देखिए नजिकको पशु प्राविधिकलाई सम्पर्क गर्न पनि शाहले आग्रह गरेका छन् । छिमेकी देश भारत हुँदै नेपाल भित्रिएको यो रोगका कारण गाईहरु मरेका पनि छन् ।

यो रोगबारे गाउँपालिकाले शनिबार अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । अन्तरक्रियामा  ‘लम्पी स्किन’ रोगका कारण गाईको मृत्युदर कम रहेको बताउँदै शाहले पशुपालक कृषकहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनले रोग सर्न नदिनका लागि रोगी गाईभैंसीलाई कम्तीमा १५ दिन सम्म छुट्टै राख्ने, गोठमा लामखुटे तथा झिंगा नियन्त्रण गर्ने, भिरकोन स्प्रे गर्नुपर्ने बताए । यो रोग मानिसमा नसर्ने भएकाले रोग लागेको पशुको दुधलाई राम्रो संँग उमालेर पिउन सकिने उनले बताएका छन् । यसैबीच गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले रोगी पशुको गाउँपालिकाको तर्फबाट उपचारको ब्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सो कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान्, ३ नं वडाका वडाअध्यक्ष भागवत घिमिरे, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, श्रमिक साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल लगायतकाको उपस्थित रहेको थियो ।

कृषि समाचार मुख्य समाचार समाज