मकवानपुरगढीमा मकैको विउ उत्पादन सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा मकै बाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत मकै विउ उत्पादन सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।

मकैबाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत यस वर्ष देखि गाउँपालिकाले विभिन्न कृषक समुह र सहकारी मार्फत वडा नम्बर ५, ७ र २ मा गरि जम्मा ३० हेक्टर क्षेत्रफलमा रामपुर कम्पोजिट जातको मकैको विउ उत्पादन कार्यक्रम संचालन गर्न लागिएको हो । विउ उत्पादन कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विउ संग सम्बन्धित सरोकारवाला विच अन्तरक्रिया गोष्ठी गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

कार्यक्रममा वीउ विजन प्रयोगशाला (बागमती प्रदेश) का प्रमुख राजन ढकालले बागमती प्रदेशमा मकै विउ क्षेत्रको वर्तमान अवस्था, अवसर र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले गाउँपालिकामा मकैबालीको अवस्था, विउ उत्पादनका लागि गरिरहेका प्रयासहरु र विउ उत्पादन प्रविधिको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने मुक्तिनाथ कृषि कम्पनीका सहायक प्रबन्धक सागर पाण्डेले विउ उत्पादन तथा व्यवस्थापनमा विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतिकरण पश्चात गोष्ठीमा सहभागीहरु विच अन्तरक्रिया गरिएको थियो जसमा कृषकहरुले विभिन्न जिज्ञासाहरु राखेको थियो जसमा मकैबालीमा लाग्ने अमेरिकन फौजी किरा रोकथाम, कृषि बाली बिमाको व्यवस्था, समयमा रासायनिक मल उपलब्धता, कृषकले उत्पादन गरेका वस्तुहरुको उचित मूल्यकाे व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । यसैगरि गुप्तेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष बसुन्धरा लामा र छतिवन कृषि सहकारी संस्थाका अध्यक्ष नारायणा घिमिरेले आ-आफ्नो ठाउँकाे विउ उत्पादन सम्बन्धि अनुभवहरु राख्नु भएको थियो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा स्याङ्गतान ज्युको अध्यक्षतामा संचालन भएको गोष्ठीमा उपाध्यक्ष मनकुमारी पाख्रिन नेपाली, वडाध्यक्षहरू, शाखा प्रमुखहरू, कृषि प्राविधिकहरू, गुप्तेश्वरी कृषि सहकारी संस्था पदमपोखरीका अध्यक्ष बसुन्धरा लामा, छतिवन कृषि सहकारी संस्था छतिवनका अध्यक्ष नारायण घिमिरे, विउ विजन प्रयोगशाला, मुक्तिनाथ कृषि कम्पनी, विउ उत्पादनमा संलग्न विभिन्न कृषक समूह/सहकारीका अध्यक्ष एवम कृषक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कृषि समाचार बागमती प्रदेश मुख्य समाचार समाचार समाज स्थानीय