मकवानपुरगढीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारीले रजत जयन्ती मनाउँदै

१५ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले रजत जयन्ती मनाउने तयारी गरेको छ । आउँदो जेठ २६ गते संस्था स्थापनाको २५ बर्ष हुने भएकोले संस्थाले रजत जयन्ती मनाउन लागेको हो ।

२०५० सालमा महिला विकास कार्यालय मकवानपुरको सहयोगमा महिला समुहका रुपमा संचालन गरिएको र २०५५ साल जेठ २६ गते सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय हेटौंडामा हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको दर्ता भएको हो । संस्थाको कार्य क्षेत्र तत्कालीन मकवानपुरगढी गाविसका सबै वडा रहेकोमा बर्तमान अवस्थामा मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म रहेकोे छ ।

रजत जयन्तीका अवसरमा सहकारीले स्मारिका प्रकाशन गर्न लागेको र त्यसका तयारी स्वरुप विभिन्न लेख र रचना प्रकाशनका लागि संकलन कार्य भइरहेको संस्थाकी अध्यक्ष जानकी दाहालले बताउनु भएको छ । प्रकाशन गरिने स्मारिका स्तरीय बनाउने उदेश्यले समाजका बौद्धिक ब्यक्तिहरुको सहभागिता रहनेगरी स्मारिका प्रकाशन उपसमिति बनाइएको र सो उपसमितिले कार्य गरिरहेको अध्यक्ष दाहालले बताउनुभयो ।

स्थापना दिवस कै अवसरमा संस्थाले संस्था परिसरमा स्वास्थ्य शिविर र आश्रममा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेकोे उहाँले बताउनुभयो ।

संस्थामा हाल १ हजार ३३५ जना शेयर सदस्य रहेको तथा किशोरी र बालबचत समेत गरि करिब २ हजार बचतकर्ताबाट ३ करोड ७० लाख रुपैयाँ बचत निक्षेप जम्मा भएको छ भने हाल करिब ५ करोड ६० लाख कारोबार रहेको संस्थाकी ब्यवस्थापक सुभद्रा घिमिरेले बताउनुभयो ।

मुख्य समाचार रोचक सहकारी