हेटौंडामा विश्व वातावरण दिवस मनाईयो

२२ जेठ,हेटौंडा- टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा ५१ औं विश्व वातावरण दिवस मनाइएको छ ।आज विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतना मुलक बृहत र्यालि तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडाका १९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा र्याली समेत निकालेर यो दिवस मनाएका हुन् ।

प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको हो । प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्ने उद्देश्यले दिवसको नारा तय गरिएको हो ।

नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षले कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ । संविधानले स्वच्छ वातावरण मौलिक हकमा राखे पनि नागरिक स्वच्छ वातावरणबाट वञ्चित छन्। बढ्दो वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ ।

हेटौंडामा ५१ औँ विश्व वातावरण दिवसको अवसरमा हुप्रचौरबाट सुरुभएको र्यालि शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर समापन भएको थियो ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, भारती पाठक, एका लाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पान्डे, जिल्ला प्रहरी प्रमुख बामदेब गौतम, हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न सरकारी एवम् गैर सरकारी संघ संस्थाहरूको प्रमुख एवम् प्रतिनिधिहरू, टोल विकासका संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा टोल विकास संस्थाको विवरणहरू समेटिएको टोल विकास दर्पण पुस्तिका समेत विमोचन गरिएको छ । कार्यक्रममा टोल विकासमा रहेर वातावरण संरक्षणमा सहयोग पुर्याउने रामकृष्ण थापालाई र वातावरण संरक्षण र अभियान संचालनमा महत्वपूर्ण योगदान पुर्याए बाफत ज्ञान बहादुर थापालाई वातावरण सम्मान २०८० द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका बीच सप्ताहव्यापीरुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा उत्कृष्ट र्यालि पुरस्कार तर्फ विकास टोल विकास संस्था हेटौंडा-८ प्रथम, अब्बल डाडा टोल विकास संस्था हेटौंडा-५ दोश्रो, सिमलटार टोल विकास संस्था हेटौंडा-११ तेश्रो, मैदाटोल विकास संस्था हेटौंडा-८, सामुदायिक विकास तथा सचेतना नेपाल र पच्चेबाजा समुह हेटौंडा- १ सान्तवना भएको टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

र्यालि कार्यक्रममा १७० भन्दा बढी संघसंस्थाको उपस्थिति रहेको र करिब ७ हजार भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले २०८१ जेठ देखि प्लास्टिक झोला रहित हेटौंडा बनाउन अभियानहरू संचालन गरिने बताउनु भयो ।

बागमती प्रदेश मुख्य समाचार समाज