मकवानपुरगढीमा कोदो संकलन शुरु,किसानले प्रति केजी ६० रुपैयाँका दरले पाउने, रैथानेबालीमा प्रोत्साहन अनुदान

३ पौष,मक्रान्चुली- गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिन थाले पछि मकवानपुरगढीमा कोदो खेती गरिरहेका किसान खुशी भएका छन् । सदियौं देखि कोदो खेती गरिरहेका किसानलाई सो अनुदानले उत्साहित बनाएको छ ।

गाउँपालिकाले रैथाने बाली अन्तर्गत कोदो, धानकोदो, फापर र जुनेलो मा प्रति केजी १० रुपैयाँ प्रोत्साहन अनुदान दिने जनाएको छ । जस अनुसार उत्पादन गर्ने किसानले प्रति केजी ६ रुपैयाँ पाउनेछन् भने गाउँपालिकामा सुचिकृत भएका सहकारीले खरिद गरे वापत प्रति केजी ४ रुपैयाँ अनुदान पाउनेछन् ।

यसैबीच गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको न्युनतम समर्थन मुल्य समेत निर्धारण गरेको छ । पालिकाले निर्धारण गरेको मुल्यमा कोदो र धानकोदोको प्रति केजी ५४ रुपैयाँ , फापरको प्रति केजी सय रुपैयाँ र जुनेलोको प्रति केजी ८४ रुपैयाँ रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । तोकिएको समर्थन मुल्य भन्दा कमीमा खरिद बिक्री गर्न नपाइने तर खरिद बिक्री गर्नेको सहमति भए तोकिएको मुल्य भन्दा बढीमा पनि कारोबार गर्न सकिने उहाँले बताउनुभयो ।

यसैबीच मकवानपुरगढीमा कोदो संकलन कार्यको शुरूवात भएको छ । बारीमा लगाएको कोदो पाके सँगै गाउँपालिकाको वडा न. ४ कालीखोला स्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले आइतबारदेखि त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित कोदो खरिद गरि संकलन गर्न शुरुवात गरेको हो ।

सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकम समेत थप गरि प्रति केजी ६० रुपैंयाको दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिल वहादुर योन्जनले जानकारी दिनुभयो । कोदो संकलनको पहिलो दिन ११ जना कृषकहरुबाट १५ सय केजी भन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्ण बहादुर घलान (मुस्कान) ले जानकारी दिनुभएको छ । कोदो विक्री गर्ने कृषकहरु मध्ये मकवानपुरगढी ४ का कृषक सुकुम बहादुर घलानले सबैभन्दा धेरै ५ सय केजी कोदो विक्री गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

आइतबार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा न. ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको उपस्थितिमा कोदो खरिद तथा संकलनको कार्य शुरुवात गरिएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ८६ वर्षीय कृषक बीर बहादुर योन्जनलाई चेक हस्तान्तरण गरि कोदो खरिदको कार्य शुरुवात गर्नुभएको कृषि प्रमुख चौधरीले बताउनुभयो ।

अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्ष देखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ्ग गरि बजारमा बिक्री गरिरहेको संस्थाका सचीव कृष्ण बहादुर घलानले बताउनु भएको छ ।

अर्थ कृषि समाचार मुख्य समाचार रोचक समाचार स्थानीय