
मक्रान्चुली- मकवानपुरका विभिन्न ठाउँमा सुर्यमुखी फुलको खेती गरिदै आएको भएपनि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ को धमिले फाँटमा भने परिक्षण कै रुपमा खेती गरिएको छ ।
सोहि वडाका बाबियोडाँडा निवासी गोकर्ण पराजुलीले धमिलेफाँटमा रहेको आफ्नो ४ कठ्ठा खेतमा सुर्यमुखी फुलको खेती गरेका छन् । बिरुवाको शुरुकै अवस्थामा रोग लागेका कारण उपचार गर्नु परेकोले खर्च बढेको उनी बताउँछन् । हालसम्म करिव ३५ हजार खर्च भैसकेको उनले बताएका छन् ।
हाल बिरुवा राम्रो अवस्थामा रहेको र फुल्ने बेलासम्म केहि समस्या नआएमा राम्रै आम्दानी हुन सक्ने उनको अनुमान रहेको छ । प्रति कठ्ठा एक क्वीन्टल फल लाग्छ भन्ने आफुले सुनेको र प्रति क्वीन्टल २० हजारका दरले ८० हजार रुपैयाँ आम्दानी हुने आफुले अपेक्षा राखेको पराजुलीले बताए ।

मकवानपुरगढीमा सुर्यमुखी फुलको खेती परिक्षण कै रुपमा रहेकाले सफल भएमा कृषकलाई खेती गर्न प्रेरित गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताएका छन् ।
हावापानी र माटोको हिसावले यस भेगमा सुर्यमुखीको खेती हुने अनुमान गरिएको तथापी हालसम्म यसको व्यवसायिक खेती कृषकहरुले नगरेकोले यसलाई परिक्षण कै रुपमा लिएको उनी बताउँछन् । यसको लागि गाउँपालिकाले प्राविधिक रुपमा सहजकरण गरिरहेको पनि कृषि शाखा प्रमुख चौधरीले जानकारी दिएका छन् ।
सुर्यमुखी तेल उच्च गुणस्तरको हुने भएकोले यसको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै नै राम्रो प्रभाव पर्ने बताइएको छ । यो तेलको सेवनले रगतमा भएको कोल्डस्टोरलाई नियन्त्रण गर्ने हुँदा हृदय रोग तथा मधुमेह रोगीका लागि लाभकारी मानिन्छ ।