केन्द्रिय दुग्ध सहकारी संघको आव्हानमा भोलि देशैभर किसानहरुले विरोध प्रदर्शन गर्दै

१६ फागुन,हेटौंडा- केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडको आव्हानमा चरणवद्ध आन्दोलन अन्तरगत भोलि फागुन १७ गते देशका मुख्य शहरहरुमा दुग्ध उत्पादक किसानहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । दुग्ध किसानहरुको माग प्रति सरकार उदासीन रहेको भन्दै विरोध प्रदर्शनका साथमा २ घण्टा चक्का जाम गर्न जिल्ला दुग्ध सहकारी संघहरु मार्फत केन्द्रिय संघले भनेको छ ।

यहि फागुन १४ र १५ गते देशैभरका जिल्ला दुग्ध सहकारी संघहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा, दुग्ध किसानहरूले विविध समस्या भोग्नु परेको भन्दै सरकारलाई किसानको माग प्रति गम्भीर हुन ध्यानाकर्षण गराइएको थियो ।

सरकारी स्वामित्वको दुग्ध बितरण आयोजना र नीजि क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम बिगत ६ महिनादेखि नपाएको र किसानहरुले उत्पादन गरेका कुनैपनि कृषिजन्य उत्पादनले बजार नपाएको तथा बजार भारतिय उत्पादनले भरिभराउ रहेका कारण नेपाली किसानहरुले आफ्नो उत्पादन फ्याक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कृषि र पशुपालन ब्यवशायमा यति धेरै समस्या सृजना हुँदापनि सरकार किसानहरुको समस्या प्रति उदासिन देखिनु, अबैधानिक रुपमा आयातित भारतिय दुग्ध र दुग्धजन्य पदार्थ रोक्न आवश्यक कदम नचाल्नु, आफ्नै मातहतमा रहेको दुग्ध विकास संस्थानलाई भुक्तानी दिनको लागि कुनैपनि कदम नचाल्नु खेदजनक कार्य भएको संघले जनाएको छ ।

भोलि हुने विरोध कार्यक्रम तथा चक्का जाम कार्यक्रमलाई विषेश रुपमा बनाउन जिल्ला दुग्ध सहकारी संघहरुलाई केन्द्रिय संघले आव्हान गरेको छ । साथै यहि फागुन २१ गते केन्द्रीकृत बृहत किसान आन्दोलनका लागि काठमाण्डौको माईतीघरमा बिहान १० बजे देशैभरबाट भेला हुन दुग्ध किसान, दुग्ध उत्पादक सहकारी संघ/संस्थाहरु, संघ संगठनहरु र सरोकारवाला निकाय सबैलाई उपस्थित हुन आव्हान समेत गरेको छ ।हेटौंडामा पनि विरोध प्रदर्शन हुने :

केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडको आव्हानमा चरणवद्ध आन्दोलन अन्तरगत भोलि फागुन १७ गते देशका मुख्य शहरहरुमा दुग्ध उत्पादक किसानहरुले विरोध प्रदर्शन गर्ने क्रममा हेटौंडामा पनि प्रदर्शन हुने भएको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयोजनमा मकवानपुरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरूले प्रदर्शन गर्न लागेका हुन् ।

कार्यक्रम अनुसार पुर्वी क्षेत्रको सानोपोखराबाट,पश्चिमको राप्ती पुलबाट , उत्तरको जिल्ला दुग्ध उत्पादक सहकारी संघको कार्यालय चौकिटोलबाट र दक्षिणको करापुलबाट बिहान ११ बजे एकसाथ र्‍याली निस्कने जिल्ला दुग्ध संघले जनाएको छ ।

चारैतिर बाट आएको र्‍याली ११.३० बजे बुद्धचोकमा जम्मा भई संयुक्त र्‍याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राममन्दिर चोक, मेनरोड हुदै बुद्धचोक, उद्योग वाणिज्य संघबाट चौकिटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगी कोणसभा सहित कार्यक्रम बिसर्जन गरिने संघका अध्यक्ष हरि प्रसाद कडेलले बताउनुभयो ।

मुख्य समाचार सहकारी