बागमती प्रदेशसभामा हिजो देखि सुरु भएको बैठक आज किन बस्दै नबसी स्थगित ?

हेटौंडा । करिब पाँच महिनापछी हिजोबाट सुरु भएको बागमती प्रदेशसभाको बैठक आज बस्ने भनिए पनि बस्न सकेन । वर्षे अधिवेशसन सकिएपछी बल्ल हिजोबाट सुरु भएको बैठक आज बस्ने भनिए पनि बस्न सकेन । बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षि दलहरुका बिचमा कुरा नमिल्दा आजको बैठक बस्न नसकेको हो ।

बुधबार बिहान साढे ११ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति जुट्न नसकेपछि सहमतिकाे प्रयासकाे लागि बिहीबार बिहान बस्ने गरी सूचना टाँस गरी स्थगित गरिएको छ ।

पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए । सोही विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै गर्न चाहेनन् । विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।

हाल हिउँदे अधिवेशन सुरु हुँदा पनि प्रदेश सरकारले प्रतिपक्षी दलहरुसँगको सहमति कार्यान्वयन गर्न नखोजेकोले उक्त सहमति कार्यान्वयन गर्न भनी प्रतिपक्षीहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारले आफ्नो तर्फबाट कुनै आश्वासन दिन नसकेको कारणले आज बस्ने भनिएको बैठक सरकारले स्थगित गराउन लगाएको प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका सचेतक मधुसुदन प्रसाद पौडेलले बताए ।

मुख्यमन्त्री जम्कट्टेल छलफलमा सहभागी नभइ राक्सिराङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन गएपछि प्रतिपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका थिए । दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार विहान साढे ११ बजे बैठक बस्ने भएको छ ।-janapatra

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार