उपनिर्वाचनः सुरक्षा व्यवस्थापनको तयारी पूरा

आसन्न उपनिर्वाचनको लागि सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उप–निर्वाचनका लागि सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएका छन् ।

भोलि वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नं. १ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणको सुरक्षा योजना बनाइ लागू गरिएको बताए ।

उनले भने, “स्थानीयस्तरदेखि केन्द्रसम्म निरन्तर समन्वय, अनुगमन र सुपरिवेक्षण गरी समग्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप–निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सक्रिय पहल गरिने छ ।”

निर्वाचन व्यवस्थापन कार्यका लागि इलाम–२ मा ७९ मतदानस्थल र १४९ केन्द्रमा गरी १ हजार ३ सय ६३ जना प्रहरी जनशक्ति परिचालन गरिने प्रहरी नायव महानिरीक्षक ढकालले बताए ।

यस्तै, उनले बझाङमा ७४ मतदानस्थल र ९३ केन्द्रमा गरी १ हजार २४ जना प्रहरी जनशक्ति परिचालन गरिने बताए ।

मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन मिलाइएको उनको भनाई छ ।

मुख्य समाचार राजनीति समाचार