किसानलाई पशुऔषधि जन्य सामाग्री हस्तान्तरण

६ असार,हेटौंडा- नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एन एल एस आई पी) हेटौंडा कार्यालयले मकवानपुरका किसानहरुलाई पशुऔषधि जन्य सामाग्री हस्तान्तरण गरेको छ ।

बिहिवार हेटौंडा-१ , चौकिटोलमा रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को कार्यालय हलमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका २२ जना किसानहरुलाई सो सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा एन एल एस आई पी हेटौंडा कार्यालयका आयोजना प्रमुख डाक्टर बिदुर गौतमको अध्यक्षता एवम् बागमती प्रदेश दुग्ध विकास बोर्डका बोर्ड सदस्य बासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेकोे थियो । कार्यक्रममा जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दहाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दहाल, NLSIP का पशु चिकित्सक मिथलेस कर्ण , पशु स्वास्थ्य प्राविधिकहरु धन बहादुर रावत, मुकेश यादव लगायतकाको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा आयोजना प्रमुख डाक्टर गौतमले सामाग्री हस्तान्तरणले किसानलाई केहि राहत मिल्ने बताउनुभयो । वितरण गरिएको सामाग्रीहरमा नाम्लेजुका परजीवी नियन्त्रणको औसधि, भिटामिन , पशुहरुमा लाग्ने थुनेलो रोग परिक्षणका लागि आवश्यक औजार सहितको औषधि लगायतका सामाग्रीहरु गरि एकजनालाई झण्डै २० हजार जतिको सामाग्री वितरण गरिएको आयोजना प्रमुख डाक्टर गौतमले बताउनुभयो ।



सो कार्यक्रमका लागि मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले संघमा आवद्ध मकवानपुरका ११ संस्थाहरु छनौट गरेको र छनौट भएका ति संस्थाहरूले २-२ जना ब्यवसायिक किसान छनौट गरेका थिए । सोहि आयोजनाको सहयोगमा संघले केहि दिन पहिला मकवानपुरका २० वटा दुग्ध सहकारीहरुलाई टियोसेन्टी र सुडान घाँसको बिउ समेत वितरण गरेको संघका ब्यवस्थापक कुमारमणी दहालले बताउनुभयो ।



नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयद्वारा विश्व बैंकको ऋण सहयोगमा पशुजन्य मुल्य श्रंखलामा उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरुको मुल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण गर्ने उदेश्यले आयोजनाको संचालन गरिएको हो । यो आयोजना आ.व. २०७४/०७५ देखि कार्यान्वयनमा आएको थियो भने यसै आ.व. २०८०/०८१ बाट आयोजना सम्पन्न हुँदैछ ।

मुख्य समाचार रोचक