कृषि मन्त्रीको पहिलो निर्णय लम्पी स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियानको घोषणा

बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो पदबहालीको पहिलो निर्णयमा लम्पी स्किन डिजिज नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गरेका छन्। प्रदेश सरकारले “सप्ताहव्यापी खोप अभियान संचालन कार्ययोजना, २०८१” स्वीकृत गरेको छ।

यही साउन २५ गतेदेखि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको र यस वर्ष करिब ६० गाईभैंसीमा खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

लम्पी स्किन डिजिज गाईभैंसीमा लाग्ने संक्रामक रोग हो, जुन २०७७ सालमा मोरङमा पहिलो पटक देखिएपछि अहिले नेपालभर फैलिएको छ। यस रोगले दुध उत्पादन घटाउने र पशु दुब्लाउने जस्ता नकारात्मक असरहरू गर्दछ।

यस वर्षको अभियानले खोप मार्फत रोग नियन्त्रण र जनचेतना अभिवृद्धि गर्ने दुई प्रमुख उद्देश्य राखेको छ।

प्रदेश सरकारले यो अभियानलाई सबै जिल्लाहरूमा एकैसाथ, व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने लक्ष्य राखेको छ। यसबाट पशुधनको संरक्षण र कृषकहरूको आर्थिक हित संरक्षण हुने अपेक्षा गरिएको छ।

मन्त्री श्रेष्ठले यस निर्णयलाई प्रदेशभर पशु स्वास्थ्य संरक्षणका लागि महत्वपूर्ण कदमको रूपमा लिएका छन्। उनले यो अभियानले प्रदेशका पशुपालक किसानहरूलाई ठूलो राहत दिने विश्वास व्यक्त गरेका छन्।

कृषि समाचार मुख्य समाचार राजनीति समाचार स्थानीय