बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको आयोजनामा मंगलबार भेटघाट तथा अनुभव आदानप्रदान कार्यक्रम भएको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय, हेटौंडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा बागमती र मधेश प्रदेशका श्रम मन्त्रीले आ–आफ्नो अनुभव आदानप्रदान गरका थिए ।
कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षता एवम् मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यता रहेको थियो ।
साथै सो क्रममा दुई प्रदेशका श्रम मन्त्रालयका सचिव तथा मातहत कार्यालयका प्रमुखहरूबीच पनि आफ्ना कार्य अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव बलराम निरौलाले हाल मन्त्रालयले गरेका गतिविधि तथा आगामी योजनाको बारेमा जानकारी गराएका थिए । जसमा मन्त्रालय र मातहतका कार्यालयहरुको जानकारी, राजस्व संकलन, डिजिटलाइजेशन लगायतका विषयमा प्रस्तुती दिएका थिए ।
त्यस्तै, मन्त्रालयले सचेतनामूलक कार्यक्रम गरिरहेको, सवारी चालक अनुमतिपत्रमा देखिएको समस्या समाधानमा लागिपरेको र यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा मन्त्रालय तत्पर रहेको जानकारी गराए ।
त्यसैगरी, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायले आफूहरू बागमती प्रदेशले गरेका गतिविधिहरु हेर्दै आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको जानकारी दिए । बताए। साथै लाइसेन्स र यातायात क्षेत्रमा पैसा नभई कुनै काम हुँदैन भन्ने धारणालाई जनताबाट चिर्न र त्यस्ता समस्या समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।