धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन


धुलिखेल- काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन भएको छ ।

बिहिवार राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि यादवले दुग्ध सहकारी क्षेत्रमा मिल्क एनालाईजर प्रविधिको प्रयोगले किसानहरुमा विश्वास जगाउनुका साथै काम गर्ने कर्मचारीलाई समेत काम गर्न सहजता हुने र यस्तो तालिमले प्रविधिको प्रयोगका बारेमा जानकारी हुने हुँदा तालिमको महत्त्व रहेको बताउनुभयो ।

समापन कार्यक्रममा तालीममा सहभागीहरुले तालिम निकै नै महत्त्वपूर्ण रहेको र तालिमले धेरै कुराको ब्यबहारिक ज्ञान दिनुका साथै मिल्क एनालाईजर संचालनका विषयमा तालिमले धेरै नै सहजता ल्याउने धारणा राख्दै तालिमले आफुहरुलाई निकै उत्साहित बनाएको धारणा राखेका थिए ।

तालिमको समापनमा धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहनुभएका काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडाल, केन्द्रिय दुग्ध सहकारी संघका संचालक केशव प्रसाद सापकोटाले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । केन्द्रिय दुग्ध सहकारी संघका लेखा समिति सदस्य शिव कोइरालाले संचालन गर्नुभएको कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभाध्यक्षतामा भएको थियो ।

५ दिनसम्म संचालन भएको तालिममा काभ्रे, ललितपुर र सिन्धुली जिल्लाका गरी दुग्ध सहकारी संस्थाका २८ जनाको सहभागिता रहेकोे थियो । तालिमको प्रशिक्षण मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका प्रशिक्षक गोविन्द प्रसाद तिमल्सिना (शर्मा) ले गर्नुभएको थियो ।

तालिमको समापन सँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय दुग्ध विकास बोर्डको आर्थिक सहयोग तथा केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालको आयोजनामा तालिम संचालन गरिएको हो ।

मुख्य समाचार रोचक विज्ञान प्रविधि शिक्षा समाचार सहकारी