बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। पुससम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलले बताए।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार