बुढीचौरको पानी मक्रान्चुली ल्याउन डिपिआर तयार,यसै वर्ष ८ करोडको काम हुँदै

गोविन्द शर्मा तिमल्सिना
६ माघ,मक्रान्चुली- बागमती प्रदेशको मुकाम मकवानपुर जिल्लाको हेटौंडासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकाको वडा नं २,३ र ४ को लागि अब नयाँ खानेपानी योजना निर्माण हुने भएको छ ।

मकवानपुरगढी-८ बुढीचौरमा रहेको धुन्दुरी खोलाको मुहानबाट पानी मक्रान्चुली ल्याउन डिपिआर तयार भएको हो । पुर्ण नयाँ संरचनामा बनाउनु पर्दा यस योजनाको कुल लागत करिब ६० करोड खर्च लाग्ने अनुमान गरिएको भए पनि यहाँ भएका पुराना संरचनालाई प्रयोगमा ल्याउँदा यसको लागत करिब २० करोड भित्र नै काम सम्पन्न गर्ने गरि डिपिआरलाई अन्तिम रुप दिइदै छ । जस अन्तर्गत चालु आर्थिक वर्षमा ८ करोडको काम हुनेछ ।

नेपाल सरकारको लगानीमा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना हेटौंडाले शनिबार वडा नं ३ को कार्यालय मक्रान्चुलीमा सरोकारवालाको बैठकमा सो कुराको जानकारी गराएको छ ।

३ नं वडाका वडाध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको बैठकमा हेटौंडाका आयोजना प्रमुख इन्जिनियर पुर्ण उपाध्याय लगायत प्राविधिक टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा ४ नं वडाका वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना , निर्माणाधीन खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद पोखरेल , मकवानपुरगढी बृहत खानेपानी उपभोक्ता समुहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत वडा नं ३ र ४ का सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


खानेपानीको चरम अभावका बिच यस क्षेत्रमा २०५० सालमा निर्माण गरिएको मकवानपुरगढी बृहत खानेपानी योजनाबाट पानी अपुग भएकोले विभिन्न लिफ्टीङ योजनाहरु संचालनमा रहेका छन् । तर लिफ्टीङ योजनामा बिजुलीको शुल्क तथा मर्मत सम्भारमा निकै नै खर्च हुने गरेका कारण योजना संचालनमा समस्या भइरहेकोले नयाँ योजनाको खोजी गर्नुपरेको वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।

मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का माननीय सांसद महेश बर्तौला तथा खानेपानी मन्त्री माननीय प्रदीप यादवको विशेष पहलमा बजेटको सुनिश्चितता भएको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।


नयाँ योजनाको कस्तो बन्यो त डिपिआर ?

समुन्द्र सतह देखि १ हजार ३३३ मिटरको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका वडा नं ८ बुढीचौरको धुन्दुरी खोलामा यस आयोजनाको मुहान रहनेछ । त्यस मुहानबाट ल्याइएको पानी मकवानपुरगढी गाउँपालिकाको ३ र ४ नं वडामा रहने विभिन्न ७ वटा ट्याङ्कीबाट पानीको वितरण हुनेछ ।

समुन्द्र सतह देखि ७३९ मिटर उचाईमा रहेको वडा नं ३ को मक्रान्डाँडामा एउटा नयाँ ट्याङ्की निर्माण हुनेछ भने वडा नं ३ र ४ मा हाल रहेका विभिन्न ट्याङ्कीलाई प्रयोग गरी पानी वितरण गरिने योजना रहेको छ । जस अन्तर्गत वडा नं ३ मा रहेका बाबियोडाँडा ट्याङ्की, सालघारी टोलमा रहेको ट्याङ्की, ७५४ मिटर उचाइमा रहेको टावरडाँडा ट्याङ्की र जागरण सहकारी नजिक रहेको ट्याङ्की प्रयोगमा ल्याइने छन् । त्यस्तै वडा नं ४ मा रहेका बुर्जाडाँडा ट्याङ्की र ७८१ मिटर उचाइमा रहेको क्षितिज टोलमा रहेको ट्याङ्कीलाई प्रयोगमा ल्याई पानी वितरण हुनेछन् ।

यस योजनाको कुल लम्बाइ १११ किलोमीटर रहनेछ । जस अन्तर्गत २६.५ किलोमिटर प्रसारण लाइन हुनेछ भने बाँकी ८४.५ किलोमिटर वितरण लाइन हुनेछ ।

यस योजनाबाट लाभान्वित संख्या कति ?

मकवानपुरगढी गाउँपालिकाको वडा नं २ को भालुन्टार क्षेत्र तथा वडा नं ३ र ४ को सबै भुभाग यसको कार्यक्षेत्र रहनेछ । यहाँ १ हजार ६ सय पच्चीस घरका ७ हजार ५ सय पैतिस जनसंख्या यस योजनाबाट लाभान्वित हुनेछन् । अबको २० वर्ष पछिसम्म पनि पानी पुग्नेगरी डिपिआर तयार पारिएको छ ।

योजना सम्पन्न भए पश्चात् यस क्षेत्रमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान हुने यस योजनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाको सदरमुकाम समेत रहेकोे यस क्षेत्रमा पछिल्लो समय कृषि तथा पशुपालनका ब्यवसायिक फार्महरु संख्या बढिरहेको छ भने उद्योग कलकारखाना पनि स्थापना हुन थालेका छन् । योजना सम्पन्न भएपश्चात यस क्षेत्रमा खानेपानीको दीर्घकालीन समस्या समाधान हुने विश्वास लिइएको छ ।

मुख्य समाचार रोचक समाचार