लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

८ फागुन, मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको पशु दाना उद्योग सञ्चालनमा आएको छ ।

२०७७ पुसमा मकवानपुरगढी गाउँपालिकाभित्रै कुखुरा र पशुका लागि दाना उत्पादन गर्ने योजनाअनुरुप निर्मित उद्योग आज बिहीवारबाट सञ्चालनमा ल्याइएको हो । गाउँमै दाना उद्योग स्थापना गर्ने मकवानपुरगढी जिल्लाकै एकमात्र स्थानीय तह हो । दाना उद्योगले २०७७ माघबाट परीक्षण उत्पादन गरेको थियो ।

डेढ वर्ष परीक्षण उत्पादन गरेको उद्योगलाई नियमित सञ्चालनमा ल्याउन लगानीको अभाव भएपछि उत्पादन रोकिएको थियो । दाना उद्योग संघीय सरकार, बागमती प्रदेश सरकार, गाउँपालिका र मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघको संयुक्त लगानीमा स्थापना गरिएको हो । 

उद्योग निर्माणमा संघीय सरकारको १ करोड, प्रदेश सरकारको ३४ लाख, गाउँपालिका कार्यालयको डेढ करोड र बाँकी सहकारीको गरी साढे ४ करोड लगानी रहेको छ ।
‘परीक्षण उत्पादनबाट निस्किएको दाना बिक्रीको रकम पनि समयमै उठेन् । अहिले थोरै मात्रै उठ्न बाँकी छ । सहकारीमा लगानी बढाएर अब नियमित सञ्चालन गर्ने गरी आजबाट काम सुरु गरेका छौं ।’, मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघका अध्यक्ष जनक रेग्मीले भने । संघले उद्योग सञ्चालनको जिम्मेवारी लिएको हो ।

मकवानपुरगढी वडा नम्बर ३ स्थित तल्लो कालिखोला दमारमा स्थापित उद्योगबाट आज ४० बोरा दाना उत्पादन भएको रेग्मीले बताए । लगानी जुटाउन नसक्दा उद्योग चल्न नसकेको र अब लगानी खोजेर सञ्चालनमा ल्याइएको ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेले जानकारी दिए । सहकारी संघमा शेयर लगानी पनि बढाइएको छ ।

पशुपालन र कृषि क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन दाना उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिकाको पूर्वअध्यक्ष बिदुर हुमागाईं बताउँछन् । मकवानपुरगढीमा ९० प्रतिशत किसान पशुपालनमा आत्मनिर्भर छन् ।

उद्योगको प्रतिघण्टा २० बोरा दाना उत्पादन गर्ने क्षमता छ । ‘उद्योग ठूलो क्षमताको हो । यसले मकवानपुरगढीको मात्र नभई जिल्ला भरकै मागलाई पूरा गर्न सक्छ ।’, वडाध्यक्ष घिमिरेले भने । उद्योगबाट पशुका लागि मासि र कुखुराका लागि गोटी दाना उत्पादन हुने जनाइएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन भए १० जनाले रोजगारी पाउने छन् ।

अनलाइन खबरबाट ।

मुख्य समाचार विज्ञान प्रविधि समाचार सहकारी स्वास्थ्य